लियोनले पार्यो सिटीको सपना चकनाचुर

खेलकूद

31992916 0 image a

एजेन्सी । च्याम्पियन्स लिग जित्ने म्यान्चेस्टर सिटीको सपनामा पुनः चकनाचुर भएको छ । क्वार्टरफाइनलमा लियोनसँग १–३ गोलअन्तरले पराजित हुँदै पेप ग्वार्डिओलाको टोली प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको २४ औँ मिनेटमा नै लियोनले म्याक्सवेल कोर्नेटको गोलको मद्दतले अग्रता लिएको थियो । दोस्रो हाफमा राहिम स्टर्लिङको पासमा गोल गर्दै केभिन डि ब्रुयनाले खेल बराबरीमा ल्याए ।

तेस्रो गोल भने विवादास्पद बन्न पुग्यो । मोउसा डेम्बेलेले खेल सकिन ११ मिनेट जाँदा लियोनलाई पुनः अग्रता दिलाए । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले गोलअघि फल गरेको कुरालाई बेवास्ता गरेको थियो ।

सिटीले त्यसपछि गोलका लागि प्रयास गरे पनि स्टर्लिङले सुन्दर अवसर गुमाएका थिए । गोलका लागि खुला अवसर पाउँदा पनि उनको प्रहार पोष्टबाट बाहिरिएको थियो ।

त्यसलगत्तै लियोनका लागि डेम्बेलेले अर्को गोल थप्दै सेमिफाइनलमा बायर्न म्युनिखसँगको भिडन्त सुनिश्चित गरे । सिटीलाई पछिल्लो समय सफलता दिलाएका ग्वार्डिओला पुनः एकपटक प्रमुख लक्ष्य हासिल गर्नबाट चुकेका छन् ।

सेमिफाइनलमा अब दुई फ्रेन्च (पीएसजी र लियोन) र दुई जर्मन (आरबी लेइपजीग र बायर्न म्युनिख) टोली भिड्नेछन् । यसरी सेमिफाइनलमा दुई देशका टोलीमात्र भएको सन् २०१२–१३ पछि पहिलो अवसर हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार