सिन्धुपाल्चोक पहिरो ः१८ जनाको शव भेटियो

ब्यानर

sindhupalchok

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको वडानम्बर २ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप २ जनाको शव भेटिएको छ । २ जनाको शव भेटिएसँगै पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शुक्रबार बिहान ११, शनिबार दिउँसो ५ र साँझ थप २ जनाको गरी १८ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र ७ महिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले लिदीका ३५ घर पुरिएको र घरसँगै ३९ जना बेपत्ता भएका छन् । पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाएका परिवारलाई १ लाख राहत
विपद् व्यवस्थापन समितिको बैठकले पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै समितिले दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने पनि निर्णय गरेको छ ।

लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले १ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई सहयोग रकम हस्तान्तरण गरेको हो । संघको तर्फबाट १ लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार सहयोग गरिएको संघका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार