वर्षेनी दुखिरहेको सिन्धुपाल्चोक

ब्यानर

gulmi pahiro BzXlQoOTps

सिन्धुपाल्चोक । २०७१ साउन १७ को मध्यरातमा पहाड खसेर सुनकोसी नदी थुनिएको जुरे पहिरोको घटनादेखि सिन्धुपाल्चोक वर्षेनी बाढी र पहिरोको चपेटामा पर्ने गरेको छ । हरेक वर्ष दर्जनौं मानविय र ठुलो आर्थिक क्षति व्यहोर्न बाध्य हुदै आएको छ ।

सात वर्षको अवधीमा श्रृंखलाबद्ध रूपमा पहिरोको मारमा स्थानीय पर्ने गरेका छन् । हरेक वर्ष मानवीय क्षति र असंख्य आर्थिक क्षतिको मारमा सिन्धुपाल्चोक पर्दै आएको छ । जुरे पहिरोले तीन सय १७ जनाको एकै चिहान बनाएको थियो ।

जुरेबाट विस्थापित भएका केही परिवार अझै घरबारविहीन छन् । राज्यको बेवास्तामा परेका उनीहरूको सर्वस्व पहिरोमा परेकाले अझै घरबारविहीन बन्नु परेको हो । त्यत्ति ठुलो जनधनको क्षति भएलगत्तै अर्को वर्ष भुकम्पको चपेटामा परेको थियो ।

सो भुकम्पमा सिन्धुपाल्चोकका ३ हजार ५७१ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । ८० हजार निजी घर संरचना भत्किएका थिए भने सरकारी सामुदायिक भवन र विद्यालय भवनहरु पनि ध्वस्त हुन पुगे ।

सो क्षतिबाट सिन्धुपाल्चोक अझै पनि पूर्ण रुपमा उठ्न सकेको छैन । त्यसयता पनि वर्षेनी बाढी र पहिरोको चपेटामा सिन्धुपाल्चोक पर्दै आएको छ । भुकम्पछि सो क्षेत्रको भु–बनावट कमजोर बनेको कतिपय विज्ञको भनाई छ ।

प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ बाढी र पहिरोको जोखिमबाट जनधनको क्षति कम गराउन नसक्नु राज्य र नागरिक दुवै दोषी रहेको तर्क गर्छन् ।

२०७२ को भूकम्पपछि जिल्लाका एक सय ४० भन्दा बढी ठाउँ बसोबासको दृष्टिकोणले असुरक्षित ठहर गर्दै बस्ती स्थानान्तरणका लागि सिफारिस गरे पनि कार्यान्वयनमा आउन नसकेको उनले स्मरण गरे । राज्यले पनि ध्यान नदिनु र स्थानीयपनि आफ्नो थातथलो छाड्न नमानेका कारण घटना हुने पुगेको उनको भनाई छ ।

७१ सालपछि भोटेकोसी किनार र आसपासका बस्तीमा वर्षेनी साना–ठूला पहिरोले जनधनको क्षति पु¥याउने गरेको छ । नेपाल–चीन सीमाको तातोपानीदेखि खाडीचौरसम्मको क्षेत्र बाढी र पहिरोको जोखिममा देखिन्छ ।

पछिल्लो केही वर्षका घटनालाई हेर्दा भोटेकोसी र सुनकोसी करिडोर बाढी पहिरोको उच्च जोखिममा रहे पनि उक्त क्षेत्रलाई सुरक्षित बनाउने या जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरण गर्ने सरकारको कुनै योजना देखिदैन ।

पछिल्लो पटक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पनि सरकारले सुरक्षित स्थानमा नसारेको स्थानीयले बताएका छन् । लिदीका जनता र स्थानीय प्रतिनिधिले सुरक्षित स्थानमा सार्न आग्रह गरेपनि स्थानीय प्रशासनले अटेर गरेपछि घटना भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । कांग्रेसले पनि घटनाको छानबिन गर्न माग गरेको छ ।

यसैबीच, लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् । लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललले जानकारी दिए ।

नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् । त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ । सौर्य दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार