दमकमा आजदेखि एक साताका लागि लकडाउन

समाचार

luckdown

झापा । दमकमा आइतबार रातिदेखि लागू हुनेगरी एक साताका लागि लकडाउन गरिएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै आज रातिदेखि भदौ ६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

यस अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने समितिले जनाएको छ । दूधका पसल दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिए ।

बन्दाबन्दीका क्रममा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारीस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने समितिले जनाएको छ ।

शनिबार दमकमा एकैपटक सात जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । योसँगै दमकमा सङ्क्रमितको सङ्ख्या २० जना पुगेको छ । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्र्याक ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताए ।

यसअघि दमक उद्योग वाणिज्य सङ्घले पनि आइतबार राति १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय दमकसहित देशैभर कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिँदै गएपछि झापा, दमकका व्यवसायीले जोखिम हुन नदिन भन्दै पसल आफैँ बन्द गर्न थालेका छन् ।

दमकमा समुदायमा कोरोना सङ्क्रमण देखिएसँगै यहाँका व्यवसायीले आफ्ना पसल, व्यवसाय स्वतःस्फूर्त बन्द गर्न थालेका हुन् । दमकको चौक आसपासका भिडभाड हुने स्थानका व्यापार तथा व्यवसाय सङ्क्रमण फैलिन नदिन भन्दै खनाल मार्केट पाँच दिनका लागि स्वतःस्फूर्त बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार