बागमतीका प्रदेश सांसद प्रहरीसहित १६ जना संक्रमित

समाचार

corona virus 7Xi2VY1rbR

हेटौँडा । बागमती प्रदेशका एक प्रदेशसभा सदस्यसहित हेटौंडामा कार्यरत ११ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौँडास्थित किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा प्रदेशको मुकामसमेत रहेको हेटौंडामा बस्ने १६ जनालाई संक्रमण पुष्टि भएको कर्रा आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

संक्रमण हुनेमा १ प्रदेशसभा सदस्य, ११ जना प्रहरी, हेटौँडा–४ बस्ने ३ महिला र एक पुरुष रहेको चौलागाईंले जानकारी दिए । शिलापत्रसँग फोनमा कुरा गर्दै संक्रमित सांसदले संक्रमित व्यक्तिसँग भेटघाट गरेकोले आफूलाई पनि संक्रमण भएको बताएकी छन् ।

उनले आफ्नो सम्पर्कमा आएका सबै जनालाई जानकारी गराइसकेकोले आफ्नो नाम सार्वजनिक नगरी समुदायलाई त्रसित नबनाउनु आग्रहसमेत गरेकी छन् ।

‘मलाई संक्रमण भएको भर्खरै पुष्टि भएको छ । मैले मेरो सम्पर्कमा आएका सबैलाई जानकारी गराइसकेको छु । अब कुनै सञ्चारमाध्यमले पनि मेरो नाम सार्वजनिक नगरोस भन्नु चाहान्छु,’ उनले भनिन् ।

हेटौँडामा कार्यरत रौतहट घर भएका २, सिन्धुलीका १, बाँकेका २, पर्साका १, धादिङका १, चितवनका ३ र कञ्चपुरका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको आइसोलेसनका इञ्चार्ज चौलागाईंले जानकारी दिएका छन् ।

हेटौँडा–४ का संक्रमित चारै जना एक होटल सञ्चालकसँग सम्पर्कमा आएका व्यक्ति रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार