कोरोनाको कहर : भ्रम र यथार्थ

वैदेशिक रोजगारमा गएका एक नेपालीको कोरोना भोगाइ र मातृभूमिको चिन्ता
बिचार

sunil

गत बर्षको डिसेम्बर महिनादेखि चीनको हुवाइ प्रान्तबाट विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०ले यति वेला विश्वनै भ्रमण गरिरहेको छ । जुन भइरसले विश्वमा लाखौको ज्यानसमेत लिइसकेको छ । सोमवारसम्ममा नेपालमा पनि १०७ जनाको मृत्यु भइसकेको छ भने, २७ हजार २४१ जना संक्रमित भइसकेका छन् ।

कोरोना भाइरसले विश्व भ्रमण गरिरहदा विश्वका लाखौ मानिसको मृत्यु भएको छ भने करोडौंको संख्यामा संक्रमितसमेत रहेका छन् । यसो भन्दैमा रोग लाग्ने वित्तिकै मृत्युनै हुन्छ भन्ने पनि छैन । जतिमा रोग लागेको छ निको हुनेको संख्या पनि उच्च छ । त्यसो त हाम्रो मानसिकता मात्र परिवर्तन नभएको हो । कोरोना संक्रमित भन्ने वित्तिकै अपराधिको नजरले किन हेरिन्छ ? नेपालमा कोरोना संक्रमितलाई अपराधिकै नजरमा हेरिन्छ अपहेलना गरिन्छ सुन्दै र देख्दै आएको कुरा हो ।

यसैबीच सोमवार दिउँसो एउटा समाचार देखें । कोरोना संक्रमितको घरमा छिमेकिले बाहिरबाट ताला नै लगाइदिए । छिमेकिले अफ्ठेरो परिस्थितिमा सहयोग गर्नु पर्ने सान्त्वना दिनु पर्ने बेला ठूलै अपराध गरे जसरी ताला लगाउनु कतिको विवेकीपन हो ? संक्रमितले आफू होम क्यारेन्टिन बस्नै नपाउने त ? देशभरि कोरोना संक्रमित बढिरहेका छन् । पाँच महिना लकडाउन गरेर राख्दा पनि सरकाकरले कुनै विकल्प निकाल्न सकेन । सरकारको तयारी शून्यनै देखिन्छ । कारोना संक्रमणको उपत्यकामा त झन भयाबह स्थिति ल्याउने संकेत देखिएको छ ।

संक्रमितको संख्या बढेसँगै सरकारी अस्पताल भरिभराउ भइसकेका छन् । निजी अस्पतालले कोभिड–१९ का विरामी लिन मान्दैनन् । दुरदराजका स्थानीय सरकारले क्वारेन्टिन बनाएर संक्रमितको व्यबस्थापन गरेका छन् । यता त्यसो पनि हुन सकेन । स्थानीय सरकारको कुनै तयारी नै छैन । सरकार भन्छ होम क्वारेन्टिन बस, समाजले अपराधि देख्छ । के यो समाजको छिमेकिको दाइत्व हो ? विश्व भरी नै फैलिएको कोरोना भाइरसबाट म कार्यरत देश कतार पनि अछुतो रहँन सकेन ।

गत फेब्रुअरीको अन्तिम तथा मार्च महिनाको पहिलो सातादेखि म कार्यरत देश कतारमा पनि यसले आफ्नु रूप बिस्तारै फैलाउदै गयो । एक जनाबाट फैलियको भाइरस बिस्तारै सय हजार गर्दै दशौं हजारलार्इ आक्रमण गर्यो। भाइरस फैलिदै छ भन्दा कताकता डर त थियो । तर मानिसको स्वभाब आफैलाई नपरि नचेत्नेनै हुँदो रहेछ । कतारमा फैलिएको दुइ पहिनासम्म त जेनतेन जोगियो । सबैतिर यत्रतत्र फैलिदा आफू जोगिने त कुरै भएन । सार्बजनिक क्षेत्रका काम गर्नु पर्ने भएकोले चाहेर पनि आफूलाइ सुरक्षित राख्न सक्ने अबस्था थिएन । यसै पनि म निर्माणाधिन कम्पनीमा कार्यरत भएकाले पनि जोगिएर बस्न सक्ने सम्भाबना धेरै न्यून थियो । त्यसैको अप्रिल महिनाको दोस्रो सातादेखि मलाई पनि संक्रमण भइ छाड्यो । पहिले त खासै मतलब गरिएन जब आफ्नै कम्पनीमा साथीहरु सक्रमित हुन थाली सकेपछि कता– कता आफूलार्इ पनि एक प्रकारको त्रास भयो । आफूलाइै पनि सम्भाबित लक्षणहरू महशुस हुन थाल्यो । त्यसबेलासम्म एक प्रकारले दुनियानै त्रसित भइसकेको थियो ।

आफुलार्इ अलि कगजोर भएको महसुस हुन थाल्यो, त्यस्तैमा सँगै एकै भान्छामा खाना खाने साथीहरू पनि सक्रमित पुष्टी भइसकेको थियो । त्यसपछि झन त्रास नहुने कुरै भएन । डरैडरमा हस्पिटल चेक जाँच गराउन गएँ । दिनभरी हस्पिटलमा पालो कुरेर बस्दा बल्ल बल्ल साँझ पालो आयो । स्वाब संकलन गराएपछि, तीन दिन कोठाबाट बाहिर ननिस्कन डाक्टरले सल्लाह दिएका थिए । कता–कता मन डराइरहेको थियो । आखिर मेरो डरनै यथार्थमा परिणत भयो स्वाब संकलन गराएको दुर्इ दिन हुँदै गर्दा रिपोर्टमा कोरोना पोजेटिभ देखियो । जब कोरोना संक्रमित भएको पुष्टि भयो तब कम्पनीले अलग्गै लगेर मलाइ क्वारेन्टिनमा राख्यो । म भन्दा पहिले सक्रमित हुने साथीहरूलाई त्यतिबेलासम्म कम्पनीको क्वारेन्टिनबाट सरकारी क्वारेन्टिनमा लगिससेको थियो ।

तीन दिन त म एक्लै भएँ । चारसय जना अट्ने क्याम्पमा एक्लै बस्नु पर्दा ममा झन एक प्रकारको निरासाले घेराबन्दी गर्दै थियो । तर साहस बटुल्नुको विकल्प नै थिएन ।

नेपालमा त झन् यथार्थ भन्दा भ्रम फैलाउने काम भइरहेको थियो । यस्तो भयो भन्न सक्ने अबस्था पनि थिएन । काम छैन भन्ने बाहना पार्दै बस्नुको विकल्पनै भएन । कम्पनीले खानाबस्नको राम्रै व्यवस्था गरिदिएको थियो । दिनमा तीन पटक खाना खाजाको व्यवस्था गरिदिएको थियो । आधारभूत सबै कुराको व्यवस्था त छदै थियो ।, तर पनि मनमा एक प्रकारको डर चाही कम भएको थिएन । जसो तसो आफूलार्इ आफैले सम्हाल्दै बस्नुको विकल्पनै थिएन । अस्पतालबाट एक हप्ताको लागि औषधि दिइएको थियो । नियमित औसधि शेवन गर्दै पाँच दिनसम्म त्यसै गरी आफ्नै कम्पनीको क्याम्पमा बिताएँ । शरिरमा खासै असर गरेको थिएन । तर पनि मनमा भने एक प्रकारको डरले डेरा जमाएको थियो । मेरो स्वस्थमा खासै कुनै पनि प्रकारको असर देखिएको थिएन । साधारण रुघा, खोकी, जोर्नी दुखाइ र थकान महशुस घाँटी पोल्नेजस्ता लक्षण मात्र थिए ।

‘वनको बाघले खाओस नखाओस मनको बाघले खान्छ’ भने झै भयो । आफैमा अत्मबल हुँदा हुँदै पनि कोरोनाको जसरी चर्चा परिचार्चा गरियो त्यसकै डरले भित्रभित्रै डराउने बनाएको थियो । भ्रामक समाचार तथा तथ्यहीन अभिव्यक्तिहरूले भने घरी घरी झस्काइ रहन्थ्यो । पाँच दिनको कम्पनीको बसाइ पश्च्यात मलाइ सरकारी क्वारेन्टिानमा लगियो । जब सरकारी क्वारेन्टिनमा पुगियो तब मनमा एक प्रकारको उत्साह थपियो । त्यहाँ हजारौ म जस्तै अरू मान्छेहरू पनि देखियो । मनमा छुटै तरंग पैदा भयो । म मात्र होइन रहेछु, अरु पनि धेरै छन् मजस्ता भभन्ने एक प्रकारको सकारात्मक कुरा मनमा रह्यो ।

त्यहाँको व्यवस्थापन देख्दा झन अरू खुसी थपिदै गयो हामी संक्रमितलार्इ गर्ने व्यवाहार डाक्टर नर्स स्वयम् सेवकहरूको व्यवहारले केही हैन भन्ने भान भयो । सरकारको राम्रो व्यवस्थापन थियो । खानापिनको उचित प्रबन्ध थियो । दिनमा तीन पटक खानाको व्यवस्था थियो भने चिया कफी जति बेला पनि उपलव्ध थियो । खानामा पोषिलो खानाहरु थियो । हरेक पटक फेरिफेरि खानाहरु कोठामै उपलव्ध हुन्थ्यो । सरकारको सबै कुरा तारिफ योग्य थियो ।

कुनै कुरामा कम्प्लेन गर्ने वातावरण थिएन । डक्टरहरूको राम्रो निगरानी थियो । आफूलार्इ असहज महसुस भए हटलाइन नम्बरहरूमा कल गरेर आफ्नो स्वास्थ्यको बारेमा बताउन सकिथ्यो । हरेक दिन बेलुका एक प्रकारको सकारात्मक सन्देश प्रबाह गराइथ्यो । सम्बन्धित तालिम प्राप्त अधिकारीहरू कहिले गेम खेलाएर त कहिले गित संंगितको माध्यमबाट सकारात्मक सन्देश प्रबाह गराइरहन्थे । अर्काको देशमा हामी काम गर्न आएका कामदारहरुलार्इ पनि कतार सरकारले दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको थिएन । कतै पनि हामिले अपहेलना महसुस गर्न परेन । हस्पिटलमा होस् या सरकारी क्वारेन्टिनमा त्यस्तो संक्रमित भनेर कतै तल्लोस्तरको व्यवाहार व्यहोर्नु परेन ।
यता नेपालमा भने सरकारको तयारी शून्य छ । कतैै त्रिपाल हालेर त कतै विद्यालयमा राखिएको छ । डाक्टर, नर्स नियमित चेकजाँच त परको कुरा नजिक आउँन पनि डराउँछन् । सकारात्मक सन्देशले रोगप्रतिरोधी क्षमता बढाउँछ भनिन्छ तर, यहाँका आइशोलन सेन्टर यातनागृह बनेका छन् । तातो पानीसम्मको व्यवस्था संक्रमित स्वयंले गर्नु परेको बताइन्छ ।

कुनै अचुक औषधि वा विश्वासिलो भ्याक्सिन पत्ता लागेर त्यसको प्रयाप्तता नहुञ्जेल यसको तत्कालको औषधि भनेको हिममत, आँट र सकारात्मक सोचको विकास हो । नेपालको सन्दर्भमा पराम्परागत घरेलु औषधमुलो पनि अर्को विकल्प छ । तर, समाचारमा आएजस्तै क्वारेन्टिन र आइशोलेसनको अवस्था, स्वास्थ्यकर्मीको व्यवहार, समाजको व्यवहार रहने हो भने मानिस संक्रमण लुकाउन वाध्य हुन्छन् । यसरी संक्रमण लुकाएर हिड्नु पर्ने अवस्थाको वातावरण समाज स्वयं बनाउदैछन् । यसकारण नेपालमा आगामी दिनमा अझ भयावह अवस्था आउने निश्चित छ ।

कोरोना आफैमा कुनै ठूलो रोग होइन, जसले शरीरमा प्रवेश गर्दैमा मरिहालिदैन । कोरोना संक्रमण भएका करोडौमा मृत्यु हुनेको संख्या लाखमा छ । यसले पनि संक्रमितमध्ये निकै कमसंख्यामा मृत्यु भएको छ, जुन अन्य रोगकोभन्दा मृत्यु दर कम हो । अन्य गम्भीर रोग लागेकालाई कोरोना भाइरससमेत संक्रमण हुँदा ज्यान जानसक्ने अवस्था हो, तर यस्ता पनि सबैको मृत्यु भएको छैन भन्ने संक्रमितलाई हिम्मत दिनाले उनीहरूको जीवप्रतिको मोह जाग्छ, रोगप्रतिरोधी क्षमता बढछ् ।

यसरी रोगप्रति त्रास होइन् हिम्मत दिएर सकारात्मक सन्देश फैलाउनु यतिखेर सरकार, जनप्रतिनिधि, संघसस्था, समाजका सबै पक्षको कर्तब्य हो । आज छिमेकीको घरमा ताला लगाउन जानेले भोली मेरो घरमा पनि अरु यसैगरी ताला लगाउन आउनेछन् भन्ने बुझ्न आवश्यक छ । जन्मेपछि मृत्यु अवस्यंभावी छ, कोरोनाले जोगिएला अन्य जुनसुकै कारणले एकदिन सबैले मर्नु पर्छ । केही वर्ष, केही दशकको यो जीवनमा एकअर्काप्रति घृणा गरेर हैन प्रेम बाँडेर, मानवता बाँडेर मर्नेको आत्माले मात्र शान्ति पाउँछ भन्ने बुझ्न बुझाउन आवश्यक भइसकेको छ । अन्त्यमा पशुपतिनाथले सबै नेपालीलाई नेपाली मौलिकपन, मानवता बाँड्न, एकअर्काप्रति प्रेम गर्न सद्बुद्धी दिउन भनने कामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार