एकै दिन हजार बढीमा कोरोना पुष्टि, थप सातको मृत्यु

ब्यानर

114005568 tv062691676

काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको र १,०१६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको संक्रमितको उच्चतम संख्या हो।

यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ भने संक्रमितहरूको कुल संख्या २८ हजार २५७ पुगेको छ। अहिले देशभरि १० हजार ५६३ जनामा सक्रिय संक्रमण भएको जानकारी मंगलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।

सङ्क्रमितहरूमध्ये २ हजार ८८७ जना घरमै र बाँकी ६ हजार ७५२ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ। अहिले सबैभन्दा बढी सक्रिय संक्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। शुक्रवार ५९४, शनिवार ४६८, आइतवार ६४१ र सोमवार ५८१ जनामा संक्रमण पुष्टि भएको थियो।

यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८ र साउन ३२ गते ६४१ जनामा संक्रमण पुष्टि भएको थियो। मन्त्रालयले साउन ८ गते आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

को हुन् मृतक ?

अहिले कोभिड–१९ का कारण मृत्यु पुष्टि भएका व्यक्तिमध्ये छ जना पुरुष र एक जना महिला हुन्। उनीहरू काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र तनहुँको भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार –

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका घर काठमाण्डू बानेश्वर निवासी ८९ वर्षीय एक पुरुषको भाद्र १ गते राति धुलिखेल अस्पतालमा निधन भएको थियो। उनलाई दम तथा पिसावसम्बन्धी समस्या भई साउन २८ गते धुलिखेलमा भर्ना गरिको थियो। उनमा साउन २७ गते कोभिड(१९ पुष्टि भएको थियो।

नवलपरासी जिल्लाको रामग्राम निवासी ३७ वर्षीय पुरुषको भाद्र २ गते बिहान ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान निधन भएको हो। उनलाई कडा निमोनिया तथा हाइपोथाइरोडिजम भई साउन ३० गते पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनलाई साउन २९ गते कोभिड-१९ पुष्टि भएको थियो।

मोरङ जिल्लाको विराटनगर निवासी ४७ वर्षीय पुरुषको भाद्र १ गते कोशी अस्पतालमा निधन भएको हो। क्षयरोग भएका ती व्यक्ति ज्वरो, निमोनिया तथा श्वासप्रश्वासमा समस्या भई साउन ३२ गते कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। भाद्र १ गते परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो।

बाँके जिल्लाको नेपालगन्ज निवासी ६२ वर्षीय पुरुषको भाद्र १ गते राति नेपालगन्ज मेडिकल कलेजमा निधन भएको थियो। उनलाई ज्वरो, निमोनिया तथा श्वासप्रश्वासमा समस्या भई साउन ३२ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको भाद्र १ गते नमुना संकलन गरी परीक्षण गर्दा सोही दिन कोभिड–१९ पुष्टि भएको थियो।

धनुषा जिल्लाको धनौजी निवासी ६५ वर्षीय पुरुषको भाद्र १ गते प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। उनी पनि श्वासप्रश्वासमा समस्या आई साउन ३० गते अस्पताल गएका थिए। उनको साउन २६ गते सङ्कलन भएकोमा साउन ३० गते कोभिड–१९ पुष्टि भएको थियो। उनी मोटोपनबाट पनि ग्रसित थिए।

कास्कीको पोखरा निवासी ८७ वर्षीय पुरुषको भाद्र २ गते बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो। उनी मधुमेह तथा मिर्गौलाको समस्याबाट पीडित थिए। भाद्र १ गते अस्पलाम भर्ना भएका थिए। उनको साउन ३२ गते नमुना संंक्रलन गरी परिक्षण गर्दा भाद्र १ गते कोभिड–१९ पुष्टि भएको थियो।
तनहुँ जिल्लाको व्यास नगरपालिका निवासी ५० वर्षीया महिलाको भाद्र १ गते राति पोखरास्थित सेवा अस्पतालमा निधन भएको थियो। उनी ज्वरो, निमोनिया तथा श्वासप्रश्वासमा समस्या भई साउन ३२ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनको भाद्र १ गते संकलन गरी परीक्षण गर्दा सोही दिन कोभिड–१९ पुष्टि भएको थियो। उनी मधुमेह, उच्च रक्तचाप तथा दमसम्बन्धी रोगबाट पीडित थिइन्।

संक्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये काठमाडौं उपत्यकाका २०५ जना छन्।त्यसैगरी पर्सामा १२८, मोरङमा १०८ र सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६ र बारामा ४२ सङ्क्रमित फेला परेका हुन्।

के छ अरू तथ्यांक ?

विगत २४ घण्टामा १३ हजार ४६१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक परीक्षण भएको बताइएको छ। सोही अवधिमा ८५ जना भाइरसमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म १७ हजार ५८० संक्रमित निको भएका छन्। निको हुने संक्रमितको संख्या ६२.२ प्रतिशत छ।

देशभरि क्वारन्टीनमा १३ हजार ९२६ जना छन्। तीमध्ये सुदूरपश्चिम प्रदेशमा सर्वाधिक ३ हजार ६९६ जना, गण्डकीमा २ हजार ९७३ जना, प्रदेश नं १ मा २ हजार ११५ जना र प्रदेश नं ५ मा २ हजार ०९० जना छन्।

अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्यांकले देखाउँछ। अहिले काठमाडौं जिल्लामा मात्र १ हजार ६५८ जना, ललितपुरमा २८७ र भक्तपुरा १२७ जनामा सक्रिय संक्रमण छ। त्यसैगरी पर्सामा १ हजार २३७, रौतहटमा ९१२, मोरङमा ७९६ र महोत्तरीमा ७०१ जनामा सक्रिय संक्रमण छ।

तर मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। मन्त्रालयका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा कुल ११८ बिरामी सघन उपचार कक्षमा छन्। गम्भीर बिरामी भएर भेन्टिलेटरमा आठ जनालाई राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार