चीनतर्फका दुबै नाका बन्द

समाचार

rasuwagadhi naka UTm815XwNu

काठमाडौं । चीनसँग जोडिएका नेपालका मुख्य दुई नाका बन्द हुन पुगेका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सीमा वारपार गर्ने बाटो अवरुद्ध हुँदा चीनतर्फका दुबै नाका रसुवागढी केरुङ्ग नाका र तातोपानी नाका बन्द हुन पुगेका हुन् ।

रसुवागढी–केरुङ्ग नाका अगष्ट १६ अर्थात् साउन ३२ गते आएको अविरल वर्षसँगै नेपाल र चीन गरी दुबैतर्फ ठाउँठाउँमा गएको पहिरोका कारण अवरुद्ध हुन पुगेको छ भने तातोपानी नाका यसअघि नै असार ५ गतेको जुरे पहिरोका कारण अवरुद्ध हुँदै आएको छ ।

चीनसँग जोडिएका दुवै मुख्य नाका बन्द हुनपुग्दा यतिखेर चीनबाट कुनै पनि मालसामान नेपाल प्रवेश गर्न पाएका छैनन् । हवाई यातायात बन्द भएको र स्थलमार्गका दुवै नाका ठप्प हुँदा चीनबाट सामानहरु नेपाल ल्याउन नसकिएको व्यवसायीहरु बताउँछन् ।

अगस्ट १६ को अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण रसुवागढी–केरुङ्ग नाका पूर्ण रुपमा अवरुद्ध हुँदा करोडौँको मालसामान केरुङ्ग ९सीमा पारिनै० अलपत्र हुनपुगेको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

‘गत अगष्ट १४ कै बाढीपहिरोले सीमानामा आंशिक अवरोध पुर्याएको थियो । तत्काल अवरोध खुलाएपछि नाका सुचारु हुँदा नहुँदै त्यसको दुई दिनपछि नै आएको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा नाका पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ,’ भन्सार प्रमुख खड्काले भने, ‘नेपाल र चीन दुबैतर्फ ५–७ ठाउँमा ठूला पहिरो गएका छन् । पहिरोका कारण बाटो अवरद्ध हुँदा करोडौँको मालसामान उतै (चीन तर्फ) रोकिन पुगेका छन् ।’

दशैंतिहारका लागि मालसामान लोड गर्न गएका सयौंको संख्यामा रहेका कन्टेनरहरुसमेत पहिरोका कारण उतै रोकिन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार