अछाम बाढी : बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

समाचार

badi

आछाम । अछाममा बाढीमा बगेर बेपत्ता ६ जनाको शव फेला परेको छ । रामारोशन गाउँपालिकाको कैलाश खोलामा मंगलबार राति आएको बाढीले बगाएर बेपत्ता १७ जनामध्ये ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलाश खोलाको बाढीले रामारोशन गाउँपालिका– ५ सैनी बजारमा कम्तीमा २२ वटा घर र पसल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए ।

प्रहरी निरीक्षक अवस्थीका अनुसार भेटिएका शवमध्ये १३ वर्षीय नवीन साउदको मात्र पहिचान खुलेको छ । घटनास्थल भन्दा १२–१३ किलोमिटर तलसम्म फरकफरक ठाउँमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

क्षतविक्षत अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक अवस्थीले बताए । ‘शव भेटिएको स्थानमा बेपत्ता परिवारका आफन्त गइरहेका छन् । अहिलेसम्म एकजनाको मात्रै पहिचान भएको छ,’ उनले भने, ‘बाढीमा बगेर बेपत्ता ११ जनाको अवस्था अहिलेसम्म अज्ञात छ ।’ सैनीबजारस्थित कैलाश खोला छेउछाउमा रहेका घर र पसलहरू बाढीले बगाएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ । सदरमुकामबाट झन्डै ६ घन्टा पैदल दूरीमा रहेकाले टोली पुगिनसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार