२ सन्तान जन्माउनेलाई गाउँपालिको पुरस्कार

स्थानिय खबर

ramba gaupalika

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ ।

समाजमा २ सन्तान जन्माउने स्मार्ट दम्पतीलाई ५ हजार प्रदान गरिने छ । एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ का नीति, कार्यक्रम र बजेटमा  स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सन्तान जन्माई स्थायी परिवार नियोजन मिनील्याप वा भ्यासेक्टोमी गरेका दम्पतीलाई मेडिकल प्रमाणका आधारमा कम्तीमा ५ जोडीलाई गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए  । स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले ५० हजार विनियोजन गरेको छ ।

छोराबुहारी सम्मान

यस्तै सासूससुरा एवं आमाबुबाको उचित स्याहार, पोषण र स्वास्थ्यमा ध्यान दिने छोराबुहारी पनि सम्मानित हुने भएका छन् । गाउँपालिकाले चालू आवमा प्रत्येक वडाका २ जोडी गरी १० छोराबुहारीलाई ५ हजारसहित सम्मान गर्ने भएको हो ।

गाउँपालिकाले छोराबुहारीलाई पुरस्कार प्रदान गर्दा घरका आमाबुबालाई उचित स्याहारसुसार, समयमा खानपानको व्यवस्था र  स्वास्थ्योपचारमा विशेष चासो बढ्ने गाउँपालिका उपाध्यक्ष राधा श्रेष्ठले बताए ।

यस्तै पूर्ण संस्थागत सुत्केरी अवस्थाको दिगोपनका लागि मातृशिशुको पोषणयुक्त खानामा १ हजार ५ सय सहयोग गनिरे कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार