बिहीबार थप ६ जनाको मृत्यु, संक्रमितको संख्या साढे २९ हजार नाघ्यो

ब्यानर

Death from corona 1

काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप छ जनाको मृत्यु भएको र ७०७ नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ भने संक्रमितहरूको कुल संख्या २९ हजार ६४५ पुगेको छ ।

अहिले देशभरि ११ हजार ५५५ जनामा सक्रिय संक्रमित भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए। संक्रमितहरूमध्ये ३ हजार ७७२ जना घरमै र बाँकी ८ हजार ०८३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय संक्रमित प्रदेश– २ र वाग्मती प्रदेशमा छन्। संक्रमितहरू काठमाडौंका १७४ जना, सर्लाही ९३ जना, पर्सामा ५५ एवम् अछाम र धनुषामा ३१–३१ जना रहेका छन् ।

ललितपुरका १८ र भक्तपुरका आठ गरी बुधवार काठमाडौं उपत्यकामा २०० जना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितमध्ये १२९ जना सघन उपचार कक्षमा र काठमाडौंमा सात जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

विगत २४ घण्टामा ११ हजार ८३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। सोही अवधिमा २६४ जना भाइरसमुक्त प्रमाणित भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म १७ हजार ९६४ संक्रमित निको भएका छन् । निको हुने संक्रमितको संख्या ६१ प्रतिशत छ ।

देशभरि क्वारन्टीनमा ११ हजार ७६८ जना छन्। अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्यांकले देखाउँछ। तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार