चौतर्फी आलोचनापछि दुबईबाट उद्धारका लागि सरकारले दियो उडान अनुमति

समाचार

IMG 1444 H6jNl9UbHd

काठमाडौं । अन्तिम अवस्थामा उडान रद्द हुँदा नेपाल फर्कन नपाएर दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीबारे चौतर्फी विरोध आएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ ।

गत मंगलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका दर्जनौ यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।

नेपाल फर्कन दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पनि नेपाल फर्किन नपाएका २ सय ६२ जना नेपाली यात्रु आगामी आइतबार नेपाल फर्कने भएका हुन् । अलपत्र परेका यात्रुहरु नेपाल जान पाउने भए पनि उनीहरुले फेरि कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।

यात्रुहरुको आरडीटी वा पीसीआर टेस्टको समय अवधि पनि सकिएकोले २ दिन भित्र पुनः आरडीटी परीक्षणको लागि अल शबाब अल अहली क्लबमा जान सबैलाई अनुरोध गरिएको छ भने पीसीआर टेस्ट गर्न समेत एयरलाइन्सले बताएको छ ।

कोरोनाका कारण महिनौँदेखि कम्पनीको काम ठप्प भएपछि रोजगारविहीन भएका उनीहरु कम्पनीबाट बिदा भएर विमानस्थल पुगेका थिए । त्यहाँ पुगेका उनीहरुको न फर्केर जाने ठाउँ नै थियो,न खानको लागि पैसा नै । अन्तिम अवस्थामा उडान रद्द हुँदा विमानस्थलमा अलपत्र परेका यात्रुहरुलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई र सामाजिक संघसस्थाका प्रतिनिधिहरुले खान र बस्नको व्यवस्था गरेका थिए ।

कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान रित्तै फर्किएको थियो । जसको कारण नेपाल फर्किन लगेजसहित एयरपोर्ट आइसकेका दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार