आज हरितालिका : यस्तो छ तीज मनाउनुको रहस्य

ब्यानर

teej pic 11

काठमाडौं । आज हरितालिका (तीज) । तीज सनातन सस्कृतिमा महिलाले मनाउने महत्वपूर्ण पर्व हो । यो पर्व नेपाली समाजमा धूधामले मनाउने गरिन्छ । चन्द्रमाको गणना अनुसार भाद्र शुक्पक्षको तृतीया तिथिमा पर्ने भएकाले तृतीया शब्दबाटै तीज नाम रहन गएको हो । तीजलाई हरितालिका पर्व पनि भन्ने गरिन्छ ।

पौराणिक कथन अनुसार दक्षप्रजापतिकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनी सानैदेखि मनमा कल्पना गर्दै आएकी थिइन् । तर पार्वतीलाई पिता दक्षप्रजापतिले भगवान विष्णुसँग विवाह गरिदिन थालेको थाहा पाएपछि उनले आफ्ना संगिनीलाई कसैले नदेख्ने ठाउँमा लुकाउन भनिन् । संगिनीहरुले उनलाई अनकन्टार गुफामा लगेर लगेर राखे । हराएर रहेको अवस्थामा पनि उनले महादेवको प्रार्थना गरिरहिन् । उनले पानी पनि नखाई कठोर व्रत गरिन् । हरेको अवस्थामा उनले गरेको यो व्रतलाई हरितालिका भनियो । यही व्रतका कारण उनले महादेवको दर्शन पाइन् । महादेवसँगै उनको विवाह पनि भयो । यही प्रसंगको सम्झनामा आज पनि नेपाली महिलाहरुले तीजमा अन्नपानी नखाई कठोर व्रत गर्दछन् ।

तीजमा मुख्य गरी महादेवको मन्दिरमा भगवान सदाशिवको पूजाआजा गरी व्रत बस्ने परम्परा छ । महादेव र पार्वतीको जस्तो दाम्पत्य जीवन प्राप्त होओस् । जीवन सुखमय बनोस् । दाम्पत्य जीवन दीर्घकालीन बनोस्,श्रीसौभाग्यले धन्य बनोस् भनेर यो व्रत गर्ने चलन छ । तीजको व्रत गर्नाले विवाहिता महिलाको श्रीसौभाग्य अटल रहने र अविवाहिताहरुले महादेव जस्ता सर्वगुणसम्पन्न पति प्राप्त हुने विश्वास छ ।

नेपाली समाजमा तीजको रौनक श्रीकृष्णाष्टमीदेखि नै शुरु हुन्छ । यसपछि गाउँघर तथा शहरबजारमा संगिनी भाखामा तीजको गीत गाएर नाचगान गर्ने क्रम बढ्नथाल्छ । महिलाहरु बजार गएर तीजमा लगाउने नयाँ वस्त्र,गरगहना र खानपिनका सामान किन्न थाल्छन् । साथै महादेवको पूजामा आवश्यक पर्ने सामग्री तयार पार्छन् ।

तीजका दिनमा पानी पनि नखाई परिवारको सुखशान्तिका लागि भगवान् शिवपार्वतीको व्रत गरिने हुँदा त्यसका निम्ति अडिलो भोजन गरिने र यसलाई दर भन्ने गरिएको कथन छ ।शिवपार्वतीलाई सुम्निमा र पारुहाङका रुपमा सम्मान गर्ने किराँत समुदायमा काक्रो र दही मिसाएर खाने परिकारलाई दर भन्ने गरिएको कति विद्वानले उल्लेख गरेका छन् । यसरी दही र काँक्रो खाँदा भदौको प्रचण्ड घामले उत्पन्न ताप शान्त पार्न सहयोग बताइन्छ ।

दर खाएपछि माइती घरमा जम्मा भई चेलीबेटीले तीजको गीत गाउने गर्छन् । यस गीतलाई पूर्वी भेगमा संगिनी भन्ने गरिएको पाइन्छ भने पश्चिम नेपालको मगर वस्तीमा झोरा गाउने भनिन्छ । यसले गर्दा तीज विभिन्न जातजातिको साझा सांस्कृतिक पर्व बनेको छ ।
परम्परागत दर खाने चलन समाज अनुसार फरक भए पनि यसमा नेपाली प्रकृतिको आधार भेटिन्छ । वास्तविक दर खाँदा आफ्नै उत्पादनमा रमाउने संस्कृति भेटिन्छ ।

तीजको अवसरमा चेलीलाई बोलाउन मैतालुहरु चेलीका घरमा जान्छन् । बाबा,दाइभाइ लगायतका माइतीहरु लिन आएपछि चेलीहरु माइतीघर फर्कन्छन् । भाद्रशुक्लपक्षका दिन साँझ घरघरमा अनदी,जेठोबूढो,जर्नेली समुद्रफेनी,पोखरेली जुम्ली मार्सी धानको उत्तम चामलमा प्रशस्त घिउ हालेर पकाएको भारीपोषणयुक्त खाजा वा चाम्रेको दर खाने चलन छ । शहरी क्षेत्रमा तीजको केही दिनअघि देखि नै दर खाने क्रम चल्छ । कतै काक्रो र दही मिसाएर पनि दर खाने चलन छ । दर खाए पछि महिलाहरु घरघरमा भेला भएर निष्फिक्रीसित धक फुकाई गीत गाएर नाच्न थाल्छन् । चेलीलाई माइती घरमा कसको डर कसको दहकस रु

भोलिपल्ट बिहान वा तीजका दिन बिहानै महिलाहरु सौभाग्यसूचक वस्त्र गहना लगाई महादेवको मन्दिरमा पूजाआजा गर्न निस्कन्छन् । आसपासका दिदीबहिनी भेला भएर उनीहरु मन्दिर जान्छन् । व्रतालु महिलाहरु राता वस्त्रपहिरनमा हुन्छन् । सुनका गहनाले सजिन्छन् । रातो फूल तथा सितारा जडित सारी वदनमा टम्म मिल्ने त्यस्तै रङको चोली, गलामा पोते,जीउमा छड्के तिलहरी,हातमा चूरा र सुनका चुडी,औंलामा औंठी,निधारमा टकिा,शिरमा शिरबिन्दी,केशपाशमा सितारा जडित धागोडोरी, सिउँदोमा सिन्दूर,कटीमा कमरबन्ध,पाउमा पाउजु लगाएर धपक्कै बलेका महिलाले तीजमा यस संसारलाई जीउदो जाग्दो र आशलाग्दो तुल्याउँछन् । जीवनलाई रङीन र रहर लाग्दो बनाउँछन् । शिवमन्दिरलाई उज्यालो बनाउँछन् । रुप र सौन्दर्यले देवस्थललाई दीप्तिमय र जगमग बनाउँछन् । यो रमिता हेर्न दुनियाँ धार्मिक क्षेत्रमा भेला हुन्छन् र मेला भर्छन् । यसको ज्वलन्त उदाहरण श्री पशुपतिनाथमा देख्न पाइन्छ । तर यस वर्ष भने कारोना भाइरसका कारण तीजको मेला र जमघट नहुने भएको छ ।

तीजका बेला मन्दिरमा भेला भएका महिलाहरुले भगवान शिवको पूजाआजा गरी नाचगान गर्छन् । कम्मर मर्काएर तीजको संगीनीगीतमा नाचेर व्रतालुहरुले दुनियाको मन हर्छन् । महादेवको दर्शनपूजनपछि उनीहरु मन्दिरबाट नाचगान गर्दै घर फर्कन्छन् । राति पनि नारीहरुले नाचगान गरी भरपूर मनोरञ्जन गर्छन् । दिनभर पानी पनि नखाई कठोर व्रत गरेका महिला बडो फूर्तिका साथ नाच्नाले व्रतमा कुनै बल भएको आभास मिल्छ । यसले एकातिर नारीको शरीर चुस्त र सुन्दर रहन्छ । छिटै बुढी देखिदैन भने अर्कातिर उनीहरुको उर्वराशक्ति बढाई सन्तान सुख प्राप्त भई घरमा रमाइलो छाउँछ । रातो वस्त्र र परिधानले महिलाको यौवन सुदीर्घ र रम्य तुल्याउने विज्ञानले पनि सिद्ध गरिसकेको छ ।

तीन दिनसम्म मनाइने तीजको दोस्रो दिन व्रतको पारायण गरी करकलो जस्ता गरिष्ठ गुण भएका तरकारीसित खाना खाएर महिलाहरुले भोलिपल्ट मनाइने ऋषिपञ्चमीको तयारी गर्छन् । दत्तिवन माटो लगाएतका स्नान सामग्री तयार पार्छन् । तीजको तेस्रो तथा अन्तिम दिन ऋषिपञ्चमी पर्व मनाइन्छ । यस दिन तीजका व्रतालु महिलाहरु बिहानै उठी नदी तलाउ तथा जलाशयमा गई माटो,गोबर र विभिन्न वनस्पतिले महास्नान गर्दछन् । यो स्नान सकेपछि महिलाहरु घर तथा सार्वजनिक स्थलमा जम्मा भई सप्तर्षिका साथमा ऋषिपत्नी अरुन्धतीको पूजा गरी वर्ष दिनका सारा पाप दोष पखाली शुद्ध भएको विश्वास गर्छन् । पञ्चमीमा तीज पर्व सम्मन्न गरी महिलाहरु भोलिपल्ट कर्मघर फर्कन्छन् । तीज पर्वको सामान्य चलन यी देखिए पनि यो परम्पराभित्र प्रकृति र नारी संस्कृतिका अनेक आयाम रहेको आभास हुन्छ । त्यसका बारेमा अध्ययन हुन सकेमा अनेकौं ज्ञान प्राप्त हुनसक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार