७५ करोड लामखुट्टे प्रकृतिमा छोडिने

रोचक समाचार

lankhutte

एजेन्सी । अमेरिकाको फ्लोरिडाका अधिकारीहरूले ७५ करोड लामखुट्टेलाई प्रकृतिमा छोड्न अनुमति दिएका छन् । तिनीहरू स्थानीय प्रजातिको संख्या कम गर्न वंशाणुगत संरचनामा परिवर्तन गरिएका लामखुट्टे हुन् ।

अधिकारीहरूले यसले डेंगी र जीका भाइरसजस्ता रोग सार्ने लामखुट्टेको संख्या कम गर्ने अपेक्षा गरेका छन् । वर्षौँसम्म विवादास्पद रहेको उक्त योजनालाई कतिपय वातावरणवादी समूहहरूले नसोचिएको असर ल्याउने भन्दै विरोध गरेका छन् ।

उनीहरूले यसले वातावरणीय चक्रलाई असर गर्ने र झन् जोखिम बढाउने लामखुट्टे विकास हुनसक्ने बताएका छन् । तर यसका संलग्न कम्पनीले भने मानिस र वातावरणलाई नराम्रो असर नगर्ने दाबी गरेको छ ।

ती लामखुट्टेहरू सन् २०२१ मा फ्लोरिडाका केही टापुहरूमा छोडिने योजना छ । गत मेमा अमेरिकी वातावरणीय निकायले ब्रिटिश–अमेरिकी अक्सिटेक कम्पनीलाई एक प्रजातिको भाले लामखुट्टेलाई वंशाणुगत संरचनामा परिवर्तन गरेर उत्पादन गर्न स्वीकृति दिएको थियो ।

स्वीकृत प्रजाति डेंगी, जीका र अन्य खतरनाक रोगहरू सार्ने एडीज प्रजाति हो । पोथी लामखुट्टेले अण्डा पार्न आवश्यक रगतका लागि मानिसलाई टोक्छ । छोडिएका भाले लामखुट्टेले प्रकृतिमा रहेका पोथीसँगको समागमबाट थप लामखुट्टे जन्माउने अपेक्षा गरिएको छ ।

तर ती भालेमा रहेको एक प्रकारको प्रोटीनका कारण जन्मिएका पोथीहरू मानिसलाई टोक्न सक्ने अवस्थामा पुग्नु अगाडि नै मर्नेछन् । मंगलवार फ्लोरिडाका अधिकारीहरूले दुई वर्षमा ७५ करोड लामखुट्टे छोड्न अन्तिम अनुमति दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार