विजुली खपत बढाउने सरकारको यस्ता छन् योजना ? के भान्साबाट ग्यास हटला ?

अर्थ/बाणिज्य

bijuli

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योग, घरेलु प्रयोग, कृषि र सवारीसाधनमा बिजुलीको खपत बढाउने घोषणा गरेपछि विज्ञहरूले भने त्यसलाई सकारात्मक कदम भन्दै भौतिक, वित्तीय र नीतिगत पूर्वाधारको विकास पनि गर्नुपर्ने बताएका छन्।

प्राधिकरणले आफ्नो ३५ ‍औँ वार्षिकोत्सवको उपलक्ष्यमा यो वर्षलाई विद्युत् खपत वर्षको रूपमा मनाउने घोषणा गरेको हो । प्राधिकरणले विद्युत्‌बाट चल्ने गाडीलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन, खाना पकाउन र अन्य घरेलु प्रयोजन र कृषिमा सिँचाइका लागि पनि विद्युत् प्रयोग गर्ने योजना अघि सारेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले प्राधिकरणले विभिन्न क्षेत्रमा विद्युत् खपत बढाउने उद्देश्यसहित काम गरिरहेको बताएका छन्। ‘अहिलेसम्म ग्राहकहरूलाई बिजुलीको काम उज्यालो पार्नका लागि बत्ती बाल्ने र पंखा तथा इस्त्रीका लागि मात्रै प्रयोग गर्ने भन्ने छ। हामी त्यो सोच परिवर्तन गरेर घरमा खाना पकाउनेलगायत बिजुलीबाट थुप्रै काम गर्न सकिन्छ भनेर प्रचार गर्न खोज्दैछौँ,’ घिसिङले भने।

महसुल पनि पहिलाको भन्दा कम भएको कारण अब बिजुलीबाटै खाना पकाउन सस्तो पर्ने भएकाले भान्साबाट ग्यास प्रतिस्थापन गर्ने योजनामा प्राधिकरण रहेको उनले बताए। सन् २०१९ को नोभेम्बर महिनामा गरिएको एउटा अनुसन्धानले खाना पकाउने एलपीजी ग्यासले भन्दा बिजुली प्रयोग हुने इन्डक्शन चुलोबाट भात पकाउँदा ४० प्रतिशत सस्तो पर्ने देखिएको ऊर्जाविज्ञ प्राध्यापक अमृत नकर्मी बताउँछन्।

तर सरकारले विदेशबाट ठूलो रकममा आयात हुने एलपीजी ग्यासलाई प्रतिस्थापन गर्ने योजना अघि बढाउँदा ग्राहकलाई बिजुली थप सस्तो बनाउनुपर्ने र तदनुरूप बाह्रै महिना गुणस्तरीय सुविधा उपलब्ध गराउँदा मात्रै त्यो सम्भव हुने जलस्रोत मामिलका अध्येता तथा विश्लेषक रत्नसंसार श्रेष्ठ बताउँछन्।

ूलोडशेडिङ हटे पनि बेलाबेला झ्याप्पझ्याप्प बत्ती जान छोडेको छैन। बर्खामा त बिजुलीमा पकाउन त्यति असजिलो नहोला अनि हिउँदमा फेरि भात पकाउन दाउरा खोज्न जानेरुू श्रेष्ठ प्रतिप्रश्न गर्छन्। अहिले जति धेरै एकाइ बिजुली खपत गर्‍यो ग्राहकलाई त्यतिधेरै महङ्गो पर्नेगरी मूल्य समायोजना गरिएको छ। यसले गर्दा बिजुलीको उपभोग बढी गर्नेलाई नीतिगत रूपमा प्रोत्साहन नगरिएको भन्ने आलोचना पनि हुने गरेको छ।

‘हामीले गुणस्तरीय बिजुली आपूर्ति गर्ने र महसुलमा थप समायोजन गर्दै जानुपर्छ। तर पछिल्लो समय भएको समायोजनबाट पनि पहिलाको भन्दा उपभोक्तालाई सस्तो पर्छ,’ प्राधिकरणका प्रमुख घिसिङले भने । घरेलु प्रयोजनमा बाहेक विद्युत् खपतका लागि बिजुलीबाट चल्ने सवारीसाधनको प्रयोगलाई पनि प्रोत्साहित गर्नका लागि चार्जिङ स्टेशनहरू बढाउने योजनामा प्राधिकरण रहेको घिसिङले बताए।

यो वर्षको बजेट भाषणका क्रममा सरकारले बिजुलीबाट चल्ने गाडीमा भन्सार शुल्क अत्यधिक बढाएको भन्दै त्यसको सर्वत्र विरोध भएको थियो। जलस्रोत अध्येता रत्नसंसार श्रेष्ठ सरकारले उत्साहवर्धक योजना अघि सारे पनि त्यसअनुसार भौतिक, वित्तीय र नीतिगत काम भने नगरेको बताउँछन्।

‘भन्सार शुल्क ह्वात्तै बढाउने अनि बिजुलीबाट चल्ने गाडी प्रवर्धन गर्ने भनेर हुँदैन। किन्नै नसक्ने भन्सार शुल्क राखेपछि मान्छेले गाडी किनेपछि पो विद्युत्‌को खपत गर्छन्। अनि कतिवटा गाडी कहाँ चार्ज गर्ने ?’ श्रेष्ठले भने । ‘सरकार आफू उल्टो बाटो हिँड्ने अनि सुन्नका लगि मात्रै राम्रो काम गरेर हुँदैन।’

धेरै विद्युत् खपत गराउन ल्याइएका विभिन्न योजनामध्ये विद्युतीय सवारीसाधनको प्रयोग बढाउने योजना अव्यावहारिक भएको प्रा। नकर्मीको धारणा छ। यसबारे सरकारसँग आफूहरूको कुरा भइरहेको प्रमुख कार्यकारी अधिकृत घिसिङ बताउँछन्।प्राधिकरणले कृषि क्षेत्रमा पनि बिजुलीलाई प्रोत्साहित गर्ने योजना राखेको छ।

सिँचाइका लागि इन्धनबाट चल्नेभन्दा बिजुलीबाट चल्ने उपकरणहरूको प्रयोग गर्दा पनि बिजुलीको खपत बढ्ने भन्दै अर्को सम्भावित क्षेत्रका रूपमा त्यसलाई राखिएको प्राधिकरणका प्रमुख घिसिङले बताए। त्यसबाहेक उद्योग क्षेत्रले पनि ३००(४०० मेगावाट बिजुली खपत गर्ने सम्भावना अहिलेकै अवस्थामा रहेको भन्दै त्यसका लागि प्रसारण लाइन निर्माण र स्तरोन्नतिको काम भइरहेको उनले बताए।

अहिले नेपालमा वार्षिक साढे छ अर्ब एकाइ बिजुली खपत भइरहेको छ। थप उपलब्धतासँगै अब साढे आठ अर्ब एकाइ बिजुली खपत गराउने लक्ष्य लिइएको घिसिङले बताए। केही वर्षअघिसम्म नेपालमा बिजुलीको आपूर्ति कम भएकाले लोडशेडिङ हुने गरेको थियो। त्यो बेला प्राधिकरणले ग्राहकलाई फारो गरेर विद्युत् उपभोग गर्न अनुरोध गर्थ्यो।

अहिले बिजुलीको खपत बढाउनका लागि ग्राहकलाई आग्रह गर्नु आफैँमा सकारात्मक भएको विज्ञहरू बताउँछन्। खनिज तेलको खानी नभएको र जलस्रोत प्रचुर मात्रामा भएको मुलुकमा बिजुलीको खपत बढाउन अति आवश्यक भएको भन्दै उनीहरूले त्यसअनुसार उपभोक्तालाई आकर्षित गर्ने खालका काम पनि बढाउँदै लैजानुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार