पिसिआर परीक्षणमा मात्र राज्यको ३ लाख १८ करोड खर्च !

समाचार

pcr zWIqPUT2VO

काठमाडौं । सरकारले शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० खर्च हुने गरेको भन्दै हालसम्म ५ लाख ७९ हजार ८९९ टेस्ट हुँदा सो रकम खर्च भएको जानकारी दिए । उनका अनुसार यसमा पीपीई, मास्कलगायतको खर्च जोडिएको छैन ।

गौतमले ३ अर्ब १८ करोड बढी खर्च गरेर हालसम्म ३० हजार ४सय ८३ जनामा पोजेटिभ केस पाइएको भन्दै यस हिसावले एक जना संक्रमित भेट्टाउन सरकारको १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको पनि जानकारी दिए । यसबाहेक संक्रमित पुष्टि भएपछि पनि उपचारमा ठूलो धनराशी खर्च हुने भन्दै कोरोनाबाट बच्न सरकारले बनाएको मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरे ।

‘एउटा केस भेट्दाखेरी हाम्रो राज्यको १ लाख ४ हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछिको उपचारमा पनि खर्च हुन्छ । एकजना व्यक्तिलाई आईसीयूमा ३० दिन राख्नु पर्यो भने ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसरी कोरोनाको जाँच गर्ने, जाँचबाट पोजेटिभ पत्ता लगाउने, उपचार गर्न बहुत खर्चिलो छ’, प्रवक्ता गौतमले भने, ‘यसैले जरुरी काम नपरी घरबाट ननिस्कन अनुरोध छ।’

निषेधाज्ञाको बेला पनि घरबाहिर निस्केको पाइएको भन्दै उनले निस्कनै परे अनिवार्य मास्क लगाउन र एकापसमा २ मिटरको दूरी कायम गर्न अनुरोध गरे ।

यस्तै तीजमा जथाभावी नाचगान र भेला भएको पाइएको भन्दै त्यसो नगर्न पनि उनले सचेत गराए । एकाघरका परिवारका सदस्यका बीचमा मात्रै चाड मनाउन भन्दै उनले चाडबाड मनाउन आफन्तकहाँ नजान पनि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार