नेकपाको कार्यदलले बुझाएको प्रतिवेदनमा यस्ता छन् १३ शिर्षकमा सुझाव

ब्यानर

pratibedan zJliIJOcDD scaled

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार पारेको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । प्रतिवेदनले पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै अघि बढ्न सुझाव दिएको छ । शनिबार अध्यक्षद्वयलाई बुझाइएको प्रतिवेदन सर्वसम्मत तयार पारिएको कार्यदल सदस्य जनार्दन शर्माले जानकारी दिए ।

‘पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउन र पार्टी एकता बलियो बनाउने गरी प्रतिवेदन बनाएका छौँ । अब समस्याहरु समाधान हुन्छन् भन्ने विश्वास कार्यदलले लिएको छ’, कार्यदल का एक सदस्यले भने ।

स्रोतका अनुसार प्रतिवेदनमा पार्टी एकतालाई आत्मसाथ गर्दै अघि बढ्ने, पद्धति र पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने तथा पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।

अर्का कार्यदलका अर्का सदस्यले राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम गर्दै एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने कार्यदलले सुझाव दिएको जानकारी दिए ।

त्यस्तै संसदीय दलको भूमिका प्रभावकारी बनाउने र प्रदेश र स्थानीय सरकारलाई समेत थप प्रभावकारी बनाउनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले नेपालको सीमा समस्या र समाधान सम्बन्धमा कुटनीतिक तथा राजनीतिक दुवै माध्यमबाट पहल गर्न सुझाव दिएको छ ।

त्यसैगरी कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान, बाढीपहिरोबाट सिर्जित समस्याको सामना, शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने तथा एमसीसीबारे राष्ट्रको पक्षमा निर्णय गर्नुपर्ने उल्लेख छ ।

सरकारकारका काम कारवाही प्रभावकारी बनाउने बुँदामा प्रदेश तथा स्थानीय सरकारका साथै केन्द्रीय सरकार प्रभावकारी बनाउने उल्लेख छ । यसअघि मन्त्रिमण्डलका सदस्यहरुको हेरफेर र मुख्यमन्त्रीहरु परिवर्तन गर्ने विषय पार्टीभित्र चर्चामा आएको थियो ।

कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको राजीनामाको माग थाती राख्दै जारी स्थायी समिति बैठक एजेण्डामा छलफल गर्ने तथा अध्यक्षको कार्यविभाजनमा केपी ओलीले पुरै कार्यकाल (५ वर्ष) सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारीसहित पार्टी सञ्चालन गर्ने उल्लेख छ । तर दुवै अध्यक्षको सल्लाहमा निर्णयहरु गरिने उल्लेख छ ।

त्यस्तै प्रतिवेदनमा राजनीतिक नियुक्ति वा सिफारिस गर्दा पार्टीको सल्लाहमा मात्रै गर्ने गरी सुझाव दिइएको छ । त्यस्तै पार्टीका सैद्धान्तिक विवादित विषय महाधिवेशनबाट टुंगो लगाउने तथा कोरोेना संक्रमणबाट स्थिति सहज भएपछि केन्द्रीय समिति बैठक बस्ने उल्लेख छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको अन्तिम बैठकले पार्टीभित्र उठेका विभिन्न विषयवस्तुलाई मसिनो गरी छलफल गर्दै अन्तिम रुप दिएको थियो ।कार्यदलले एक साता लगाएर प्रतिवेदन तयार पारेको हो ।

गत शुक्रबार दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदललाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

त्यस्तै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नुपर्ने सुझाव समेटिएको बुझिएको छ । कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयमा छलफल गरेर स्थायी कमिटीले अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने नेकपाका नेताहरुको तयारी छ ।

गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन । बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतले ओलीको राजीनामा मागेपछि विवाद थप चर्किन पुगेको थियो ।

सोही विवादले पार्टी नै फुटको संघारमा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमा निकास खोज्दै सहमतिमा अघि बढ्न ओली प्रचण्ड सहमत बनेका थिए ।

कार्यदल प्रतिवेदनका मुख्य अंश यस्ता छन् ः
१.पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने ।
२. पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने
३. कार्यविभाजन स्पस्ट पार्नुपर्ने
४. पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ।
५ .राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम
६. एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने
७. सरकारको काम कारवाही प्रभावकारी बनाउने
८. संसदीय दलको भूमिका प्रभावकारी बनाउने ।
९ . प्रदेश र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने
१०।नेपालको सीमा समस्या र समाधान सम्बोधन गर्ने
११ .कोभिड १९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान
बाढीपहिरोबाट सिर्जित समस्याको सामनाको उपाय अवलम्बन गर्ने
१२ . शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने
१३ . एमसीसीबारे राष्ट्रिय हितमा जोड

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार