पाँचौ चरणको उद्धार उडान आजदेखि

समाचार

udayan

काठमाडौं । कोरोना महामारीले विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ । यसअघि १ भदौदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टाइनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।

कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पीसीआर सहज भएका मुलुकबाट निश्चित सर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो । नियमित उडान भने १६ भदौदेखि हुनेछ । त्यसअघि उद्धार उडान सुरु हुन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबारदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले उद्धार उडानको समायोजित तालिका बनाइएको जानकारी दिए । उडान तालिकाअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ ।

बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । यस्तै, नेपालका २ नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ । त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौं ल्याउने छ ।

सोही दिन यूरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ । एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् । नेपाल आउने सबै यात्रुको अनिवार्य पीसीआर रिपोर्ट हुनुपर्नेछ ।

सबै यात्रुले अनिवार्य ७ दिन होटेल क्वारेन्टाइनमा बस्नुपर्ने र खर्च उनीहरूले नै बेहोर्नुपर्नेछ । टर्किस र कतार एयरले १ उडानमा मात्र सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले बनाएको उडान तालिकामा उल्लेख छ ।

कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार ७ भदौसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५२ हजार २५१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार