अब मुद्रा सटही गाउँमै हुने

अर्थ/बाणिज्य

balance

काठमाडौं । अबदेखि गाउँगाउँमा स्थापना भएका वाणिज्य बैंकका शाखामा आफूसँग भएको विदेशी मुद्रा सटही गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकलाई हरेक शाखाबाट विदेशी मुद्रा किनिदिनुपर्ने व्यवस्था कार्यान्वयन गरेको छ। यस अघि बैंकले सहरी क्षेत्रका निश्चित शाखाबाट मात्रै विदेशी मुद्राको कारोबार गर्ने गरेका थिए।

त्यसैकारण विदेशबाट फर्केका नेपाली वा पर्यटन क्षेत्रमा कार्यरत ग्रामीण क्षेत्रका नागरिकले आफूसँग भएको विदेशी मुद्रा साट्न लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता थियो।

विदेशी मुद्रा खरिदका लागि भने फेरि पनि बैंकले तोकेका निश्चित शाखामै पुग्नुपर्नेछ। राष्ट्र बैंकले बैंकलाई विदेशी विनिमयको कारोबार (किन्ने र बेच्ने)गर्ने शाखा तोकेर त्यसै बमोजिम कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ। यसका साथै, विदेशी मुद्राको कारोबार सहज बनाउन इजाजत (लाइसेन्स) नीति पनि खुकुलो पारिएको छ। यस अघि विदेशी मुद्राको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले हरेक कारोबारस्थल (शाखा वा काउन्टर)को बेग्लाबेग्लै इजाजत लिने र सोही बमोजिम नवीकरण गर्नुपर्ने व्यवस्था थियो। अब त्यस्तो इजाजत एउटा संस्थाले एकमुष्ट पाउने भएका छन्।

राष्ट्र बैंकले नाफामुखी र गैरनाफामूलक सबै संघसंस्था वा कम्पनीलाई विदेशी विनिमय कारोबार गर्ने प्रमाणका आधारमा त्यस्तो अनुमति दिनेछ। आइतबार जारी भएको ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७७’ ले वित्तीय संस्था, डिपार्टमेन्टल स्टोर, सुपरमार्केट, होटेल तथा पर्यटन सेवा, उड्डयन सेवासँगै जुवाघर (क्यासिनो)लाई पनि विदेशी विनिमय कारोबारको इजाजत दिने भनेको छ।

यस अघि निकै नियन्त्रणात्मक नीति अँगालिएको क्यासिनोलाई विदेशी विनिमय कारोबारमार्फत सम्पत्ति शुद्धीकरण गर्ने आकर्षक थलो मानिँदै आएको थियो। अब त्यस्ता क्यासिनोलाई नियमनको घेरामा तानेर विदेशी मुद्राको कारोबार फुकुवा गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। यसले क्यासिनो सञ्चालनमा सहजता ल्याउनेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार