कोरोना भाइरसबाट दोस्रो पटक संक्रमित भेटियो

अन्तराष्ट्रिय

dhal ma corona

काठमाडौं । हङकङका वैज्ञानिकले कोरोना भाइरसबाट एक व्यक्ति दोस्रो पटक संक्रमित भएको घटना पत्ता लगाएका छन् ।

३० वर्षमाथिका एक व्यक्ति पहिलो पटक साढे ४ महिनाअघि कोरोना भाइरस संक्रमित भएका थिए । वैज्ञानिकले कोरोना भाइरसको जिनमा फरकपन देखिएको र दोस्रोपटक संक्रमण पुष्टि भएको यो पहिलो घटना भएको दाबी गरेका छन् ।

यद्यपि यसअघि पनि कतिपय देशमा दोस्रो पटक संक्रमण भएको दाबी बाहिर आएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक बिरामीमा देखिँदैमा सिधा निष्कर्षमा नपुग्न आग्रह गरेको छ । विशेषज्ञले भने दोस्रो पटक संक्रमित भएको घटना निकै दुर्लभ र अति गम्भीर नभएको बताएका छन् ।

हङकङ विश्वविद्यालयको यो रिपोर्टमा संक्रमणबाट ठीक हुनुअघि ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेको उल्लेख गरिएको छ ।

तर विमानस्थलमा स्क्रिनिङका क्रममा उनी पुनः संक्रमित भएको पाइएको हो । ती संक्रमितमा कुनै लक्षण भने नभएको बताइएको छ ।

लण्डन स्कुल अफ हाइजिन तथा ट्रपिकल साइन्सका प्राध्यापक बेन्डन रेनले दोस्रो पटक संक्रमित भएको निकै दुर्लभ घटना भएको बताएका छन् ।

उनले यस कारण कोभिड–१९ विरुद्धको खोप अत्यावश्यक रहेको र भाइरस बदलिने आशंका रहेको बताएका छन् ।

जुन मानिस कोरोना भाइरसबाट संक्रमित हुन्छ, उसको शरीरमा भाइरससँग लड्नका लागि इम्युन सिस्टम विकास हुन्छ र पुनस् संक्रमित हुनबाट रोक्छ ।

सबैभन्दा शक्तिशाली इम्युन कोभिड–१९ बाट गम्भीर रूपमा बिरामी बनेर निको भएका व्यक्तिमा विकास भएको हुन्छ । यद्यपि यो सुरक्षा कति लामो समयसम्म रहन्छ भन्नेबारेमा भने अहिलेसम्म स्पष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार