इनरुवा–बर्दिवास रेल मार्गका लागि रसियासंग सहयोग प्रस्ताव

अर्थ/बाणिज्य

basanta nemwang

काठमाडौं । इनरुवा बर्दिवास रेलमार्ग निर्माणका लागि रसियासंग सहयोगको प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले इनरुवा–बर्दिवास खण्डको रेलमार्ग निर्माणमा लगानीसहितको सहकार्य गर्न रसियासँग प्रस्ताव गरेका हुन् ।

नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले भेटवार्तामा मन्त्री नेम्वाङले रसियलाई रेलमार्गको झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म सरकारले आफ्नै खर्चमा रेलमार्ग बनाउन लागेको जानकारी दिँदै इनरुवादेखि बर्दिबाससम्म रेलमार्ग बनाउन रसियाले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

काँकडभिट्टा–इनरुवा खण्डको ठेक्का पनि विवादमा परेको र झापातर्फमात्रै बन्ने रेलको औचित्य नहुने तर्क आइरहेका बेलामा मन्त्री नेम्वाङले रसियासँग ऋण सहयोग मागेका हुन् । उनले पूर्वपश्चिम विद्युतीय रेलमार्गको कम्तिमा इनरुवादेखि बर्दिबासससमको खण्ड निर्माणमा सघाउन उनले प्रस्ताव गरेका हुन् ।

भेटमा करिब ४.५ अर्ब लागत लाग्न सक्ने ७२ किलोमिटर लम्बाई रहेको संघीय राजधानी काडमाडौंको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको छ । उक्त मेट्रो प्रोजेक्टको पाँच खण्ड मध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानी सहित सहभागी हुन गरिएको प्रस्तावमा राजदुत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफू उत्साहित रहेको र रसियन सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्र सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार