विन्डोज अपरेटिङ सिस्टमको रजत वर्ष

विज्ञान प्रविधि

Windows 95

एजेन्सी । माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन माइक्रोसफ्टले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो ।

कम्प्युटर जगतमा निकै ठूलो लोकप्रियता तथा तहल्का मच्चाउन सफल भएको विन्डोज ९५ लाई माइक्रोसफ्टका सहसस्थापक बिल गेट्स र जे लेनोले घोषणा गरेका थिए ।

विन्डोज ९५ लाई माइक्रोसफ्टको पहिलो युजर फ्रेन्डली अपरेटिङ सिस्टम मानिन्छ । थुप्रै रुचीकरण फिचरहरुका कारण पर्सनल कम्प्युटर प्रयोगकर्ताबीच यो निकै नै लोकप्रिय बनेको थियो ।

विन्डोज ९५ को २५ औँ वर्षगाँठका अवसरमा माइक्रोसफ्टले एक भिडियो शेयर गरेको छ, जसमा विन्डोज अपरेटिङ सिस्टमको विकास क्रम देखाइएको छ ।

२५ औँ वर्षगाँठ पूरा गरेको माइक्रोसफ्टको अत्यन्तै लोकप्रिय विन्डोज ९५ का बारेमा केही महत्वपूर्ण तथ्यहरु यस्ता छन्ः

· विन्डोज ९५ सन् १९९५ को अगष्ट २४ मा माइक्रोसफ्टको पहिलो प्रयोगकर्ता केन्द्रित अपरेटिङ सिस्टमको रुपमा लञ्च भएको थियो । निर्माण प्रयोगकर्ताहरुका लागि पहिलोपटक अगष्ट १५ मै उपलब्ध गराइएको यो अपरेटिङ सिस्टम पछि आम कम्प्युटर प्रयोगकर्ताका लागि उपलब्ध भयो ।

· विन्डोज ९५ अपरेटिङ सिस्टम लञ्च गर्ने विशेष समारोहमा द रोलिङ स्टोन्स १९८१ ब्याण्डले आफ्नो चर्चित गीत स्टार्ट मि अप प्रस्तुत गरेको थियो ।

· प्रयोगकर्तामैत्री तथा सरल अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ बजारमा आएपछि नै धेरै मानिसहरुले पहिलोपटक कम्प्युटर खरीद गरे र विन्डोज ९५ कै कारण इन्टरनेट प्रयोग गर्न पाए ।

· विन्डोज ९५ मा चारवटा सबैभन्दा सम्झनलायक फिचरहरु रहे– स्टार्ट बटन, एमएस पेन्ट, रिसाइकल बिन र टास्कबार अप्सन । विन्डोजका नयाँ संस्करणसँगै यी फिचरहरु पनि परिष्कृत हुँदै आए ।

· विन्डोज ९५ मा डकुमेन्ट खोल्न तथा एप्लिकेसन खोल्नका लागि स्टार्ट मेनु राखिएको थियो । त्यस्तै पेन्टिङप्रति रुची राख्ने धेरै युवाहरु बीच एमएस पेन्ट निकै नै लोकप्रिय बन्यो ।

· विन्डोज ९५ माइक्रोसफ्टको विन्डोज ३।१ को उत्तराधिकारीको रुपमा आएको थियो ।

· विन्डोज ९५ मा प्लग एण्ड प्ले फिचर पनि राखिएको थियो जसले स्वचालित रुपमा सफ्टवेयर पत्ता लगाउने र इन्स्टल गर्ने काम गर्दथ्यो । यो फिचर विन्डोजमा परिष्कृत रुपमा अद्यापि कायम छ ।

· विन्डोज ९५ मा ःक्ल् एप्लिकेसनसाथ आएको थियो जुन कम्प्युटर प्रयोगकर्ताहरुका लागि इन्टरनेटको दुनियामा पूराउने पहिलो माध्यम थियो । त्यो समय गुगल जन्मिनुभन्दा अगाडिको हो । एमएसएन एप्लिकेसनमार्फत् प्रयोगकर्ताहरुले इमेल पठाउने, च्याट गर्ने, इन्टरनेटमा समाचार पढ्ने जस्ता काम गर्न सक्दथे ।

· विन्डोज ९५ पछि माइक्रोसफ्टले विन्डोज ९८ बजारमा ल्यायो, जसमा विभिन्न नयाँ फिचरहरु थप गरिए । सोही वर्ष नै गुगलको जन्म भयो । सन् २००१ को डिसेम्बर ३१ पछि माइक्रोसफ्टले विन्डोज ९५ को सपोर्ट बन्द गरेको थियो ।

· यसबीचमा माइक्रोसफ्टले विन्डोजका विभिन्न संस्करण ल्यायो । जसमा केही लोकप्रिय बने भने कति फ्लप भए । विन्डोज २०००, विन्डोज एक्सपी, विन्डोज भिस्टा, विन्डोज सेभेन, विन्डोज एट पछि हाल विन्डोज १० प्रचलनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार