महाराजगञ्ज वृत्तमा कार्यरत २२ जना प्रहरीमा देखियो कोरोना

समाचार

Coronavirus Fusion Medical

काठमाडौं । महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई साउन ३१ मा पक्रेर थुनामा राखिएको थियो । उनको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएपछि निकट सम्पर्कमा रहेको प्रहरीको जाँच गर्दा कोरोना देखिएको थियो ।

त्यस्तै, नेपाल प्रहरीको भोटाहिटीस्थित साईबर ब्यूरोमा पनि इन्सपेक्टर सहित दुईजना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । ब्युरोका संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

संक्रमण देखिएपछि साईबर ब्यूरोमा कार्यरत प्रहरीलाई अफिस आउन ‘पालो सिस्टम’ लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार