टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

समाचार

TikTok

काठमाडौं । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् ।  केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्ससहित म्यासेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुवै चिनियाँ कम्पनीहरू अहिले संकटमा छन् ।

राष्ट्रपति ट्रम्पको आदेशविरुद्ध सानफ्रान्सिस्कोमा चिनियाँ म्यासेजिङ एप्लिकेसन वीच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् ।

उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखको पद सम्हाल्ने भएका छन् ।

टिकटकले पनि मायरले राजीनामा दिनुभएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ ।

बाइटडान्सका संस्थापक एवं प्रमुख कार्यकारी यिमिङ झाङले कम्पनीका कर्मचारीलाई पठाएको पत्रमा विवादित विषय सुल्झाउन प्रयास जारी रहेको बताए ।

उनले भारत र संयुक्तराज्य अमेरिकामा आफ्नो कम्पनीमाथि समस्या खडा भएको स्वीकार गरेका छन् ।

गत ६ अगस्टमा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकामा टिकटकलाई आफ्नो स्थिति प्रस्ट गर्न ४५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार