चितवनमा संक्रमित बढेपछि चेकजाँचमा कडाइ

समाचार

checkjach

चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाको कार्यान्वयन गराउन चेकजाँचमा कडाइ गरिएको छ । स्थानीय प्रशासनले लागु गरेको निषेधाज्ञा उल्लङ्खन गर्ने व्यक्तिलाई प्रहरीले धमाधम कारबाही
थालेको छ ।

चितवनमा निषेधाज्ञा लागु गरिएपछि हालसम्म चार हजार चार सय ५३ जना कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए। निषेधाज्ञा उल्लङ्घन गर्दै सवारी साधन चलाउने तथा पैदल हिँड्ने सात सय १४ जना महिला र तीन हजार तीन सय ३९ जना पुरुषलाई कारबाही गर्दा १० लाख ४१ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको थापाले बताए ।

निषेधाज्ञाको समयमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको थापाको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले चेकजाँच गरिरहेका छन् ।

निषेधाज्ञाको पालना पूर्ण रुपमा होस् र कोरोना भाइरसको संक्रमण थप फैलिन नपाओस् भनेर चेकजाँचलाई कडा पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए ।जिल्लाका विभिन्न स्थानमा नियमित र छड्के चेकजाँचलाई तीव्र पारिएको गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार