एउटै कुकुरले १२ जनालाई टोक्योः ३ को मृत्यु, ३ गम्भीर घाइते

समाचार

dog

काठमाडौं । दोलखामा एउटै कुकुरले टोकेका १२ मध्ये एक बालकसहित तीनजनाको मृत्यु भएको छ । घाइते ३ जना गम्भीर अवस्थामा छन् ।

कुकुरले टोकेका स्थानीयलाई रेबिजको भ्याक्सिन लगाएपछि बिसेक हुनुको सट्टा तीनजनाको मृत्यु भएपछि दोलखाको मेलुङ बजारस्थित मेडिकल सञ्चालक कृष्णकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनले गुणस्तरहीन भ्याक्सिन लगाएको आरोप मृतकका आफन्त र स्थानीयको छ ।

गत २७ असारमा मेलुङ गाउँपालिका– ५, ६ र ७ नम्बर वडाका १२ जनालाई एउटै कुकुरले टोकेको थियो । उनीहरू सबैले त्यही दिन कार्कीको मेडिकलमा गएर रेबिजको भ्याक्सिन लगाएका थिए । मृतक सबैमा रेबिजको संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेसम बोहराले बताए । भ्याक्सिन लगाइसक्दा पनि मृत्यु हुन थालेपछि सिंगो गाउँ नै आतंकित बनेको छ ।

भ्याक्सिन लगाइसकेपछि स्वास्थ्यमा सुधार हुनुको साटो मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले कार्कीको मेडिकलविरुद्ध आन्दोलन गर्दै आएका थिए । उनीहरूले भ्याक्सिनको गुणस्तरबारे अध्ययन गर्नुपर्ने माग गर्दै आएका छन् । प्रहरीले बुधबार मेडिकल सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएको छ ।

स्थानीयको मागअनुसार भ्याक्सिनको अध्ययन गर्न बिहीबार पशु सेवा विभाग र काठमाडौंका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट विज्ञहरूको टोली दोलखा आइपुगेको प्रहरी प्रवक्ता बोहराले बताए । कार्कीले मेडिकलको नाम पनि नराखेको र वैधानिक रूपमा दर्तासमेत नभएको उनले बताए ।

कुकुरको टोकाइबाट घाइते भएका बैतेश्वर गाउँपालिका–६ नाम्दुका सात वर्षीय कुशल नेपालीको २८ असारमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मेलुङस्थित मामाघर आएका वेला उनलाई कुकुरले टोकेको थियो । त्यही दिन भ्याक्सिन लगाए पनि उनको स्वास्थ्य बिग्रँदै गयो । अरू कुनै रोग नभएका उनको भोलिपल्ट मृत्यु भयो ।

त्यस्तै, भ्याक्सिन लगाइसकेपछि पनि दिनानुदिन अस्वस्थ हुँदै गएपछि मेलुङ–६ तिनपिप्लेका ३० वर्षीय रामचन्द्र भण्डारी थप उपचारका लागि ललितपुरस्थित पाटन अस्पतालमा भर्ना भएका थिए ।

तर, बुधबार उनको मृत्यु भएको छ । प्रहरीका अनुसार कुकुरको टोकाइबाट घाइते भएका मेलुङ गाउँपालिका– ५ सुंगुरेका १५ वर्षीय सुरेश विकको पनि मृत्यु भइसकेको छ । उनीहरू तिनैजनामा रेबिजको संक्रमण पुष्टि भइसकेको प्रहरीले जनाएको छ ।

१२ जनालाई टोक्ने कुकुरलाई भने स्थानीयले २७ असारमै मारेका थिए । मृतकका परिवार र आफन्तले पक्राउ परेका मेडिकल सञ्चालक कार्कीविरुद्ध जाहेरी दिने तयारी गरिरहेको मृतक रामचन्द्रका भाइ हरिशचन्द्रले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार