सालो अपहरण गरी ससुरासंग १० फिरौती माँग

समाचार

apaharan yoeMt7pDkF

बाँके । बालक अपहरण गरी दश लाख फिरौति माग्ने व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बालक अपहरणको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका –१६ निवासी २७ बर्षीय कल्लु भनिने कलिम खाँलाई प्रहरीले पक्राउपछि आइतवार सार्वजनिक गरेको छ ।

९ भदौमा खाँले आफ्नै सालो खजुरा गाउँपालिका–५ निवासी १३ बर्षीय इशहाक जाकिर भनिने इन्तजार खाँलाई अपहरण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम रानाले बताए । ९ गते बेलुका ८ः३० बजे बालक इन्तजार गाउँमा मोहरम्को रमाइलो हेर्न गएको मौका छोपेर कलिम खाँले उनलाई अपहरण गरेको एसपी रानाले जानकारी दिए ।

अपहरणपछि कलिम खाँले सालो इन्तजारलाई जयसपुरस्थित आफ्नो घरको कोठामा बन्धक बनाई फोन सम्पर्क गरी धम्काउँदै १० लाख फिरौति माग्दै आएका थिए । बालक इन्तजार अपहरण परेको र अपहरणकारीले १० लाख रुपैयाँ फिरौति माग्दै धम्काउने गरेको सूचना प्रहरीले पाएलगतै बालकको खोजतलास सुरु गरेको थियो ।

त्यसको सूँइको पाएपछि कलिम खाँले भदौ ११ गते सालोलाई जानकी गाउँपालिका–५ बुढिया गाउँस्थित फूपुको घरमा लगेर छोडेका थिए । बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार प्रहरीले इन्तजारलाई त्यहीबाट उद्दार गरेको हो । बालकको उद्दारपछि कलिम खाँलाई नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिए ।

ससुराले जग्गा खरिद गर्नको लागि घरमा १० लाख रुपैयाँ जम्मा गरेको थाहा पाएका ज्वाईं कलिम खाँले त्यही पैसाको लोभमा सालोलाई अपहरणको गरेको डीएसपी खड्काले बताए ।

प्रहरीले अपहरणमा प्रयोग भएको एउटा मोटरसाइकल र धम्काएर फिरौति माग्न प्रयोग भएको मोबाइल फोन पनि बरामद गरेको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार