पत्नीले क्वाइरेन्टाइनमा बस्न आग्रह गर्दा आगो लगाइएकी महिलाको अवस्था गम्भीर

समाचार

IMG 8094.jpg .2020 08 30 1536x1152 1

सप्तरी । भारतबाट फर्केकाले क्वारेन्टाइनमा बस्न आग्रह गर्दा श्रीमानले मट्टीतेल छर्केर आगो लगाउँदा जलेकी सप्तरीकी युवतीको अवस्था गम्भीर बनेको छ । उनको लहानमा उपचार हुन नसकेपछि शनिबार काठमाडौं लगिएको छ ।

सप्तरी सुरुंगा नगरपालिका–३ लक्ष्मीपुरकी २५ वर्षीया वसन्ती सदालाई उनका पति २९ वर्षीय दीपेन सदाले मट्टीतेल छर्केर आगो लगाएका थिए । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सामान्य उपचार गराएपछि घरमा बस्दै आएकी वसन्तीको अवस्था गम्भीर बनेको हो । लहान र विराटनगरमा उपचार हुन नसकेपछि सुरुंगा नगरपालिकाले उनलाई शनिबार एम्बुलेन्समा काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ट बर्न सेन्टरमा पठाएको छ ।

दीपेन ४ साउनमा भारतको पन्जाबबाट घर फर्केका थिए । उनलाई वसन्तीले क्वारेन्टाइनमा बस्न आग्रह गरेकी थिइन् । क्वारेन्टाइनमा बस्न आग्रह गर्दा अपमान गरेको भन्दै ५ साउन बिहान वसन्तीको शरीरमा मट्टीतेल छर्केर आगो लगाएको उनकी आमा सोनावतीले बनाइन् । ‘शरीरमा मट्टीतेल छर्केपछि ज्यान जोगाउन भागेकी थिइन् । लखेट्दै सलाई कोरेर आगो लगाएछन्,’ सोनावतीले भनिन् ।

आगोले उनको घाँटीमुनि र कम्मरमाथिको भाग जलेको छ । वसन्तीको शरीरमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्न खोजेको अभियोगमा श्रीमान दीपेनलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतको आदेशमा बिहीबार जेल चलान गरिएको कडरबोना इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रामराजा केशरीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार