तरकारीमा बिलको प्रयोग नहुँदा ठगिन्छन् उपभोक्ता

अर्थ/बाणिज्य

tarkari bazar

काठमाडौं । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले तरकारी बजारमा विक्रेताले खरिद–बिक्री बिल जारी नगर्दा उपभोक्ता ठगिएको निष्कर्ष निकालेको छ । समितिले अनुगमनका क्रममा खरिद–बिक्रीमा बिल जारी नभएकै कारण तरकारीको मूल्यमा मनपरी भएको पाइएको भन्दै यथाशीघ्र बिलको प्रयोग गर्न निर्देशन दिएको छ ।

अनुगमनपछि खुद्रा विक्रेताले थोक विक्रेताबाट बिल लिने प्रणाली विकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए ।

‘अहिलेको मुख्य समस्या भनेको तरकारीको मूल्य निर्धारण हो, उत्पादन र ढुवानीको कारण देखाएर बजारमा भाउ बढेको गुनासो छ,’ उनी भन्छन्, ‘कालिमाटी र बल्खु तरकारी बजार अनुगमन गर्दा खुद्रा बजारमा मूल्य बढ्नुपर्ने कुनै कारण देखिँदैन, यसको कारण खरिद–बिक्री बिल जारी नहुनु नै मुख्य कारण हो ।’

उनका अनुसार अनुगमन समितिले शनिबार बिहान ५ बजे बल्खु तरकारी बजार पुग्दा गोलभेँडाको मूल्य प्रतिकिलो ९५ रुपैयाँ थियो । तर, त्यही गोलभेँडाको मूल्य बालाजु क्षेत्रमा प्रतिकेजी एक सय ५० रुपैयाँ रहेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए । ‘बल्खु र बालाजु करिब ६ किलोमिटरको दूरीमा छन् । यति दूरीमै ५५ रुपैयाँ मूल्य फरक हुनुले काठमाडौंको तरकारी बजार र उपभोक्ता ठगीको चित्र देखाउँछ,’ उनले भने ।

०६९ सालमा स्थापना भएको बल्खु कृषि तथा तरकारी बजारमा चार सय २४ चोक तथा खुद्रा तरकारी पसल छन् । बजार व्यवस्थापनका कारण मूल्य नबढोस् भनेर पसल खरिद–बिक्री गर्न नपाउनेलगायतका नियम बनाएको बजारका निर्देशक मोहन बस्नेत बताउँछन् । समितिले अनुगमनपछि मूल्यसूची अद्यावधिक गर्ने, ढकतराजु अद्यावधिक गर्नेलगायत बजार सुधारका काम तुरुन्तै गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार