पहिरोको जोखिममा ४ हजार ७२० घरधुरी, २५ जिल्लाका २९९ बस्ती सार्ने प्रक्रिया कछुवा गतिमा

समाचार

sindhupalchok pahiro

काठमाडौं । भूकम्पका कारण जोखिममा परेकामध्ये सबैभन्दा बढी गोरखाका एक हजार एक सय ६१ घरधुरी र सिन्धुपाल्चोकका ७१ बस्ती स्थानान्तरण सूचीमा रहेका छन् ।

– जमिन र वर्षात्को पानी व्यवस्थापन गरेर बस्ती सुरक्षित गर्न सकिने उपाय अपनाउनसमेत सरकारले बेवास्ता गर्दा पहिरोका कारण जनधनको क्षति बढ्दो छ । जोखिममा रहेका सबै बस्तीको पहिचान अझै भइसकेको छैन ।

– गुल्मी काशिलाबाँझका युद्धवीर विश्वकर्मा भन्छन्, ‘सबैले खोलो तरेपछि लौरो बिर्सने रहेछन् । मिडियाले सोध्छन्, तर आफैँले मत दिएर जिताएकाले एकपटक पनि सोधीखोजी गरेनन् ।’

गुल्मी मालिका–२ दर्लिङको काशिलाबाँझ गाउँमा ०७२ मा खसेको पहिरोले करिब ३५ दलित परिवारलाई उठीबास लगायो । उनीहरू केही समय खुला चउरमा बसे । तर, सरकारले पुनःस्थापनामा चासो नदेखाएपछि पहिरो पन्छाएर जोखिमपूर्ण ठाउँमै बसिरहेका छन् । म्याग्दी रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ बैँसरीमा भूकम्पपछि पहिरो खस्यो । अन्यत्र जाने विकल्प नभएपछि त्यहाँका बासिन्दा पनि पहिरो खसकै ठाउँमा फर्केका छन् ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ तार्सा गाउँमाथिका दुई ठूला डाँडा बीचमा चिरिएका छन् । गाउँमुनिबाट पनि पहिरो खसिरहेको छ । २५ घरधुरी त्रासमा जीवनयापन गरिरहेका छन् । भूगर्भविद्ले यी गाउँ तत्काल स्थानान्तरण गर्न सिफारिस गरेका छन् । तर, त्यसको प्रक्रिया अझै सुरु भएको छैन ।

जनप्रतिनिधिले पनि आफूहरूको पीडा बिर्सेको गुल्मी काशिलाबाँझका युद्धवीर विश्वकर्मा बताउँछन् । भन्छन्, ‘सबैले खोलो तरेपछि लौरो बिर्सने रहेछन् । मिडियाले सोध्छन्, तर आफैँले मत दिएर जिताएकाले एकपटक पनि सोधीखोजी गरेनन् ।’

१२ वैशाख ०७२ को भूकम्प र त्यसपछिका परकम्पनका कारण पहाडी क्षेत्रका बस्ती पहिरोको जोखिममा रहेका यी थोरै उदाहरण हुन् । ती बस्तीलाई अन्यत्र सार्न सरकारी तदारुकता नदेखिँदा त्रासमै बसिरहेका छन्, स्थानीयवासी ।

जमिन व्यवस्थापन गरेर राख्न सकिने बस्तीमै सरकारी कार्यक्रम पुगेका छैनन् । र, जनधनको क्षति बढ्दो छ । सिन्धुपाल्चोक जुगल–२ लिदी गाउँ त्यही सरकारी ढिलासुस्तीको सिकार बन्यो । बायो इन्जिनियरिङ गरेर बस्ती सुरक्षित गर्न सरकारी निकायले चासो नदिँदा ३० साउनमा खसेको पहिरोले गाउँ नै बगायो ।

२५ जिल्लाका २९९ बस्ती जोखिममा

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अध्ययनमा १२ वैशाख ०७२ को भूकम्पबाट अतिप्रभावित र प्रभावित २५ जिल्लाका दुई सय ९९ वटा बस्ती अतिजोखिममा छन् । भूगर्भविद्ले ती बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष दिएका छन्, जसमा चार हजार सात सय २० घरधुरी छन् ।
प्राधिकरणले मंसिर ०७३ देखि भूकम्पका कारण जोखिममा परेका बस्तीबारे अध्ययन थालेको थियो ।

अतिप्रभावित र प्रभावित जिल्लाका एक हजार एक सय दुईवटा बस्ती त्यसमा समेटिएका थिए । तीमध्ये चार सय ६३ वटा बस्ती सुरक्षित देखिएका छन् । यस्तै, तीन सय ४० बस्तीको भूगोललाई सुरक्षित बनाएर अहिलेकै ठाउँमा राख्न सकिने अध्ययनको निष्कर्ष छ । बाँकी दुई सय ९९ वटा बस्ती भने सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्ट बताउँछन् । अध्ययनबाट जोखिमपूर्ण बस्तीलाई तीन तहमा वर्गीकरण गरिएको छ ।

अध्ययनको अन्तिम प्रतिवेदन तयार हुने क्रममा छ । भट्टका अनुसार यसबीचमा कतिपय ठाउँ छुटेको बताउँदै अध्ययन गरिदिन निवेदन आएका छन् । ती ठाउँलाई पनि समेटेर अन्तिम प्रतिवेदन तयार गरिने उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार