क्षमताभन्दा दोब्बर कैदीबन्दी, संक्रमण भयावह

समाचार

Central Jail Factory 20190913100527

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा कार्यरत ५६ जना सुरक्षाकर्मीसहित एक सय नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको केन्द्रीय कारागारमा बिरामी कैदीबन्दीलाई अस्पताल ओहोरदोहोर गराउँदा सुरक्षाकर्मी र कैदीबन्दीमा संक्रमण फैलिएको हो।

स्थान अभावका कारण एक हजार चार सय कैदी राख्न सकिने क्षमता रहेको केन्द्रीय कारागारमा हाल तीन हजार दुई सय ७१ जना कैदी छन्। सानो ठाउँमा धेरैजना कैदी राखिएसँगै भौतिक दूरी कायम गर्न सकिएको छैन। पर्याप्त क्यान्टिन र खुला ठाउँ नभएको सो कारागारमा रहेका सबै कैदीबन्दीको पिसिआर गर्नुपर्ने माग कारागार प्रशासनले गरेको छ।

हाल संक्रमित भएकामध्ये कसैलाई पनि लक्षण भने देखिएको छैन। त्यसकारण भित्रभित्रै फैलिएको हुनसक्ने डर देखिएको कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले पिसिआर गरिएका अधिकतरमा कोरोना पोजेटिभ देखिएको बताए। उनले सानो ठाउँमा धेरै कैदीबन्दीलाई खाँदेर राखिएकाले भित्र फैलिएको हुनसक्ने बताए।

कारागारमा संक्रमण भयावह हुन थालेपछि आइतबार बसेको राज्य व्यवस्था समितिको भर्चुअल बैठकमा गृहमन्त्री रामबहादुर थापाले चिन्ता व्यक्त गरेका थिए। उनले सबै कारागारमा उच्च सावधानी अपनाउन निर्देशन दिएका थिए। यसबाहेक बाँके जिल्ला कारागारमा ८ जना, सिरहा कारागारमा ७ र सुनसरी कारागारमा ८ जना संक्रमित भएका छन्। कारागारमा संक्रमण बढ्नसक्ने भन्दै सर्वोच्च अदालतले थुनुवाको मुद्दामा सुनुवाइ नगर्न आदेश दिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार