आन्दोलन घोषणाको तयारीमा वायुसेवा सञ्चालक संघ

अर्थ/बाणिज्य

bausewa

काठमाडौं । आन्तरिक हवाई उडानलाई पर धकेल्ने सरकारको निर्णयप्रति हवाई सञ्चालकहरु आक्रोशित बनेका छन् । ५ महिनाभन्दा बढी अवधिसम्म बन्द रहेको उडानलाई खुला गर्ने यसअघिको निर्णय पटकपटक सार्न थालेपछि एयरलाइन्स अपरेटरहरुले सरकारको सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै पूर्वघोषणा बमोजिम आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने तयारी गरेको संघका महासचिव मनोज कार्कीले जानकारी दिए ।

‘हामीले आन्तरिक उडान बन्द गर्ने निर्णय नलम्ब्याउन सरकारलाई भनेका थियौं । त्यसो गर्ने हो भने आन्दोलन गर्छौं भनेका थियौं । तर सरकारले फेरि १५ दिन उडान नगर्ने निर्णय गरेको छ भन्ने सुनियो । यो अवस्थामा एक्लैले निर्णय गर्नसक्ने अवस्था रहेन, छिटै कार्यसमिति बैठक बोलाएर कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्छौ ।’ समिट एयरका प्रबन्ध निर्देशक समेत रहेका संघका महासचिव कार्कीले त्यसका लागि बुधबारभित्रै कार्यसमिति बैठक बस्ने जानकारी समेत दिए ।

मन्त्रिपरिषद्को गत साउन ५ गतेको बैठकले भदौ १ गतेदेखि हवाई उडान खुला गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले सबै विमान कम्पनीहरुको नाममा सेफ्टी सर्कुलेसन र सेफ्टी एड्भाइजरी जारी गर्दै भदौ १ गतेदेखि उडानका लागि तयारी गर्न भनेको थियो । सोही अनुसार विमान कम्पनीहरुले अरु तयारीका साथै टिकट बुकिङ समेत गरिसकेका थिए । तर, साउन २९ गते सरकारकै निर्णयबमोजिम क्यानले उडानलाई १५ दिन पर सार्न निर्देशन दिएको थियो । तर, यो अवधि फेरि नसार्न वायुसेवा सञ्चालक संघले सरकारलाई चेतावनी दिएको थियो । तर, संघले चेतावनीसहित विज्ञप्ती जारी गरेको दिन नै सरकारले असोज १ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेपछि संघ आन्दोलन गर्ने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार