भारतमा एकैदिन ८६ हजार संक्रमित

अन्तराष्ट्रिय

2e6bf6cc 0d58 4b61 8cf4 b9816cb2d6db

एजेन्सी । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट थप ८६ हजार मानिस संक्रमित भएको पाइएको छ। शनिवार दिइएका विवरणअनुसार २४ घण्टाको अवधिमा ८६ हजार ४३२ नयाँ संक्रमित भेटिएका छन् । यो संख्या दैनिक सर्वाधिक वृद्धि हो । साथै विश्वमा अन्यत्र कुनै देशमा पनि एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका छैनन्।

वितेका तीन दिनदेखि भारतमा लगातार प्रतिदिन ८० हजारभन्दा धेरै संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ हालसम्म कोरोनाभाइरस संक्रमणका कुल ४० लाख २३ हजारभन्दा धेरै मामिला भेटिएका छन्। तीमध्ये साढे आठ लाख जति सक्रिय संक्रमित छन् भने ३१ लाख मानिस निको भइसकेका छन्।

हालसम्म त्यहाँ कोभिड–१९ का कारण ६९ हजार ५६१ मानिसको ज्यान गइसकेको छ। शनिवार दिइएको विवरणमा २४ घण्टाको अवधिमा त्यहाँ १ हजार ०८९ जनाको ज्यान गएको छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले राखेको विवरण बमोजिम संसारभरि कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ६६ लाख नाघेको छ कोभिड–१९ ले हालसम्म संसारका आठ लाख ७६ हजार मानिसको ज्यान लिइसकेको छ।

सबभन्दा धेरै संक्रमित अमेरिकामा पाइएका छन्। त्यहाँ ६२ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने एक लाख ८८ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।

दोस्रो स्थानमा ब्राजिल छ जहाँ ४० लाख ९१ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। त्यहाँ एक लाख २५ हजार मानिसको ज्यान गइसकेको छ। तेस्रो स्थानमा रहेको भारतमा तेज गतिमा संक्रमण वृद्धि भइरहेको हुनाले ब्राजिललाई भारतले उछिन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार