काठमाडौं । रुकुममा एक महिला आफ्नो श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बफीकोट गाउँपालिका–१० की २६ वर्षीया अन्जना पुन बुढा रहेकी छिन् ।
बुढाले गत भदौ १० गते राति घरमै ३६ वर्षीय श्रीमान् भीमबहादुर बुढालाई लाठीले निर्घात कुटपीट गरेर हत्या गरी शवलाई डोकोमा बोकेर भीरबाट फालेको स्वीकार गरेकी छन् ।
केही दिन अघि श्रीमान् बेपत्ता भएको भन्दै उनी गाउँ गुहार्न पुगेकी थिइन् । गाउँवासी मिलेर खोज तलासमा लागेपनि तीन दिनसम्म भीमबहादुरको शव भेटिएन । चौथो दिन दिउँसो घरदेखि २ सय मिटर दूरीमा पर्ने भीर तल सडेगलेको अवस्थामा भीमबहादुरको शव फेला परेको थियो ।
प्रहरीका अनुसार त्यस दिन राति श्रीमान मदिराले मातेर आएको र आफ्नो चरित्रमाथि प्रश्न उठाएपछि आवेसमा आएर हत्या गरेको बयान दिएकी छन् । उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी केसीले बताए ।