कोरोनामा ब्राजिललाई उछिन्यो भारतले, अब भारत दोश्रो नम्बरमा

अन्तराष्ट्रिय

114264812 a69ce706 0bf7 4428 9d6b a9f050835fe2

एजेन्सी । विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्यांकले देखाएको छ। यसअघि संक्रमित हुनेको संख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो ।

अहिले भारतमा संक्रमित हुनेको संख्या ४२ लाख पुगेको छ भने त्यहाँ संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । देशको जनसंख्याको हिसाबले कोभिडका कारण मानिसको मृत्यु हुने संख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ।

तर तीव्र गतिमा भाइरसको संक्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि चिन्ता बढेको छ । राजधानी दिल्लीमा पनि संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। तर संक्रमण सहरबाट विस्तारै साना नगर अनि ग्रामीण क्षेत्रहरूमा सर्दैछ।

सरकारले व्यापार र यातायात पुनः खोल्दै गर्दा संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो। लकडाउन खुलेपछि मानिसहरूको गतिविधि विभिन्न क्षेत्रमा बढ्नुले पनि संक्रमितको संख्यामा वृद्धि भएको विज्ञहरूले बताएका छन्।

यसअघि आइतवार भारतमा एकैदिन थप ९० हजार मानिस कोरोनाभाइरसबाट संक्रमित भएको तथ्यांक सार्वजनिक भएको थियो। त्यहाँ आइतवार मात्रै नभइ लगातार विगत तीन दिनदेखि सङ्क्रमितको सङ्ख्या ८० हजार नाघ्दै आएको थियो।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६२ लाख भन्दा बढी मानिसमा संक्रमण देखिसकेको छ।त्यसपछि भारतमा ४२ लाख र तेस्रोमा ब्राजिल परेको छ जहाँ ४१ लाख भन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार