उखु किसानले अझै पाएनन् २४ करोड रुपैयाँ

समाचार

ukhu

काठमाडौं । सर्लाहीका किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ ।

उखुको वक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच २ महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । १८ पुसमा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले दिएका छैनन् ।

पटकपटक संघर्ष गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको ३र४ वर्षदेखिको भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ । लामो समयसम्म वक्यौता रकम भुक्तानी नभएपछि अब आशा गर्न छाडेको धनकौल गाउँपालिका महिनाथपुरका किसान रामप्रताप महतोले बताए । आफूहरू काठमाडौँ गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाएजस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको उनको आरोप छ ।

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनि रोकिएका छन् । उखुको भुक्तानी आउला र घर व्यवहार चलाउने भन्ने आश गरेका सो क्षेत्रका किसान अहिले निराश भएका छन् । विगतका वर्षको भुक्तानी दिन नसकेर गत वर्ष मुख्य सिजनमा पनि अन्नपूर्ण चिनी मिल सञ्चालन हुन सकेन् ।

जति प्रयास गर्दा पनि भुक्तानी नदिएर ती उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । अध्यक्ष मैनालीका अनुसार उद्योगले ३।४ वर्षदेखिको करिब २४ करोड रकम उखु उत्पादक किसानको भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार