ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्जको ‘सर्ट कोड’ परिवर्तन

अर्थ/बाणिज्य

recharge

काठमाडौं । अब फरक–फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ ।

यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन हुने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि, २०७७’ले हाल कार्यान्यवनमा रहेका विभिन्न सर्ट कोड र टोल फ्रि नम्बरको व्यवस्थापन गर्ने व्यवस्था गरेको हो ।

अहिले सेवा प्रदायकपिच्छे फरक कोडहरु प्रयोग हुने गरेका छन् । अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने गरी कार्यविधि आएको छ ।

अब ६ महिनाभित्रै सबै सेवा प्रदायकले ब्यालेन्स थाहा पाउन १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने भएको छ ।

सेवाप्रदायकअनुसार फरक(फरक सर्ट कोड हुँदा प्रयोगकर्तालाई समस्या भएको ठहर गरेर नियामक प्राधिकरणले यस्तो व्यवस्था गरेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले बताए । धेरै सेवा प्रदायकलाई फरक–फरक सर्ट कोड दिनु पनि उपयुक्त नभएको प्राधिकरणको ठहर छ ।

अहिले प्रयोगकर्तालाई बानी पार्न नयाँ र पुरानो दुबै कोड प्रयोगको अनुमति पनि कार्यविधिले दिएको छ । एक वर्षपछि अहिले प्रयोगमा रहेका सर्ट कोड निष्क्रिय हुनेछन् । र, हाल कार्यविधिले व्यवस्था गरेका कोडमात्रै प्रयोगमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार