चीनले भन्यो – अरुणाचल भारतको होइन, हाम्रो भूभाग हो

अन्तराष्ट्रिय

114272828 gettyimages 1209379591

एजेन्सी । अरुणाचल प्रदेशको सीमा क्षेत्रबाट पाँच भारतीयलाई चिनियाँ सेनाले अपहरण गरेको आरोपको चीनले कडा खण्डन गरेको छ । अरुणाचल भारतको भूभाग नभई तिब्बतको दक्षिणी भूभाग भएको चीनले उल्लेख गरेको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सकाअनुसार चीनका विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिङ्गले भने ‘चीनले कहिले पनि ‘कथित’ अरुणाचल प्रदेशलाई मान्यता दिएको छैन, यो हाम्रो इलाका हो । हामीसंग भारतीय सेनाको तर्फबाट पाँच बेपत्ता भारतीयको प्रश्न आएको छ, तर हामीलाई यस बारे केही जानकारी छैन ।’

भारतीय सेनाले चिनियाँ सेना समक्ष अरुणाचल प्रदेशको माथिल्लो क्षेत्र सुबनपुरी जिल्लाबाट चिनियाँ सेनाले भारतीय नागरिक अपहरण गरेको कुरा उठाएका थिए । आइतबार भारतका केन्द्रीय मन्त्री किरेन रिजिजूले यस बारे जानकारी दिदैं भारतीय सेनाले चिनियाँ सेनाको जवाफ पर्खिरहेको बताएका थिए । उनले ट्वीट गर्दै भनेका थिए ‘भारतीय सेनाले चिनियाँ सेनासंग यसको जवाफ मागेको छ र अहिले त्यसको पर्खाइमा छ ।’

यस वर्ष जुन महिनामा लद्दाख सीमामा भारत र चिनियाँ सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो र यसपछि दुवै देशबीच तनाव बढ्दै गएको छ ।

भारतीय सेनाका एक सेवानिवृत जनरलले नाम नछाप्ने शर्तमा बिबिसीसंग भने ‘चीनको अरुणाचल प्रदेशलाई लिएर जुन भनाई आएको छ, यो कुनै नयाँ विषय होइन । चीन यसअघिदेखि नै अरुणचललाई आफ्नो भूभाग मान्दै आएको छ । चीनले पहिले आफूले म्याकमोहन रेखा नमान्ने प्रष्ट पारिसकेको छ । यसैकारण चीन तिबबती धर्म गुरु दलाई लामाको भारत भ्रमणमा जहिल्यै असन्तुष्ट रहने गरेको छ ।’

‘प्राय भारत–चीन सीमादेखि लगभग ७०–८० किलोमिटर पछिनै भारतको बेस क्याम्प हुने गथ्र्यो, तर १९८६–८७ देखि भारतीय सेनाले सीमामा यो दूरी घटाउँदै लग्यो । तर त्यतिबेलै चीनले आपत्ति जनाएन, किनभने भारत र चीनको विकास दर (जिडिपी) लगभग बराबरी थियो ।

त्यसपछि जब २००८ मा भारत अमेरिकाको नजिक गयो र दुई देशबीच परमाणू सन्धी पनि भयो, अनि चीन नराम्ररी झस्क्यो । अहिले भारतले सीमावर्ती क्षेत्रमा निर्माण कार्यलाई तिब्रता दिएको छ, र यही कारणले भारत–चीन सीमामा तनाव चुलिएको छ ।’

चिनियाँ विदेशमन्त्री वांग यीले हालै फ्रेन्च इन्सिच्युट अफ इन्टरनेशनल रिलेशनमा भाषण दिने क्रममा भने ‘दुवै देशबीच अहिलेसम्म सीमा रेखाको एकिन गरिएको छैन, त्यसैले समस्या आउने गर्छ । चीन आफ्नो संप्रभुता र क्षेत्रिय अखण्डता बलियो गरी कायम राख्न चाहन्छ, र भारतीय पक्षसंग सम्वादको माध्यमले सबै किसिमको समस्याको समाधान निकाल्न तयार छ ।’

चीनका विदेशमन्त्रीले यो पनि भने ‘भारत–चीन सीमामा स्थिरता बनाइराख्न चीन प्रतिवद्ध छ । स्थितिलाई तनावपूर्ण बनाउने कार्यमा चीनका तर्फबाट पहिले प्रयास कहिल्यै हुनेछैन ।’ उनले भने ‘चीन सधैं ‘गुड नेभरहुड’ को सिद्धान्तमा विश्वास राख्दछ, र आफ्ना छिमेकीसंग बलियो दोस्ती र स्थिर सम्वन्ध राख्न चाहन्छ ।’

भारत र चीनबीच ३५ सय किलोमिटरको लामो सीमा जोडिएको छ, र दुवै देश सीमाको वर्तमान अवस्थासंग सहमत छैनन् । यसै विषयलाई लिएर दुवै देशबीच सन् १९६२ मा युद्धसमेत भएको थियो । (बिबिसीबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार