बाँच्नका लागि रोहिंज्या शरणार्थीको कष्टपूर्ण संघर्ष : आधा वर्ष समुद्रमै यात्रा

अन्तराष्ट्रिय

rohinga ElATcufzsP

एजेन्सी । करीव ३०० रोहिंज्या आप्रवासीहरू सात महिनासम्म समुन्द्र र तटीय क्षेत्र हुँदै सोमबार इन्डोनेसिया पुगेका विवरणहरूले उनीहरूको कष्टकर यात्रालाई बताउने संयुक्त राष्ट्र सङ्घीय शरणार्थी नियोग (यूएन्एचसीआर) ले जनाएको छ । एक दर्जनभन्दा बढी बालबालिकासहित ती आप्रवासीलाई काठको डुङ्गाहरूमा यात्रा गर्दै गर्दा इन्डोनेसियाको सुमात्राको उत्तरी तटमा लोक्सेउमावे शहर नजिकै अवतरण गर्न स्थानीयले सहयोग गरेका राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन् ।

म्यानमारका मुसलमान अल्पसङ्ख्यक रोहिंज्या समुदायले विगत केही वर्षदेखि यस्तै कठिन यात्रा गर्दै इन्डोनेसिया, फिलिपिन्ससम्म पुग्ने गरेका घटना नयाँ भने होइनन् । यस्तै कठिन यात्रा गर्दै रोहिंज्या शरणार्थी खासगरी एसियाका दर्जनौँ देशमा पुगी सस्तो श्रम बेचेर वा शरणार्थीका रूपमा जीवन विताइरहेका छन् । उक्त समूहमा यात्राका क्रममा कम्तीमा ३० जनाको त मृत्यु भएको राष्ट्रसंघीय निकायले जनाएको छ । उनीहरू बाँच्नकै लागि सरल उपायको खोजीमा बङ्गलादेशको कोक्स बजारबाट गत फेब्रुअरीमा यात्रा तय गरेको बताइएको छ ।

यूएन्एचसीआरले भनेको छ,“उनीहरू बाँचेका त छन् । तर समुद्रको कठिन यात्राका कारण कतिपय दिन भोकै यात्रा गरेको बताउने उनीहरू करिब सात महिनासम्म असामान्य कष्ट व्यहोरेका छन् । उनीहरूमध्ये करिब ३० जनाले आफ्नो ज्यान गुमाएका बताउने गरेका छन् भने कैयौँलाई स्वास्थ्य सेवाको जरूरी देखिएको छ ।”

म्यानमारमा अल्पसङ्ख्यक रोहिंज्या शरणार्थी र सरकारी सेनाबीच तीन वर्ष पहिले भएको द्वन्द्वपछि करिब दश लाख रोहिंज्या शरणार्थी रखाइन राज्यबाट भागेर छिमेकी मुलुक बङ्गलादेश पुगी विभिन्न शरणार्थी क्याम्पमा भिडभाडमा बस्ने गरेका छन् । विश्व कोरोना भाइरसको महामारीबीच जुधिरहँदा उनीहरूलाई भने रोगको भन्दा बढी चिन्ता भोकको हुने गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहहरूले बताउने गरेका छन् ।

मानव तस्करहरूले दयनीय अवस्थामा जीवन गुजार्न बाध्य यिनै आप्रबासी, शरणार्थीहरूलाई प्रलोभनमा पारी विश्वका विभिन्न मुलुक पु¥याउने गरेको राष्ट्रसंघीय उक्त निकाय, यूएन्एचसीआर,ले बताएको छ । बङ्गलादेशपछि मुसलमान अल्पसङ्ख्यक उक्त जातीले आफ्नो रोजाइको गन्तव्य मलेसिया तथा इन्डोनेसिया बनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार