अन्यौलमा मेलम्ची खानेपानी ,फेरि सर्याे काठमाडौै आइपुग्ने मिति

Uncategorized

melamchi surung tunnel

काठमाडौं । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।

आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो ।

आगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्‍याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ ।

गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

सोही आधारमा त्रुटि सच्चाउन लागिएको हो । मानवीय क्षतिसमेत हुने गरी भएको सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ ।

इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो ।

नेपाल सरकारसँग सीएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ ।

भारतीय कम्पनी पीआइएल निर्माणस्थल आएर हेरेर गइसकेको छ । कम्पनीसँग नयाँ गेट बनाउने गरी आयोजनासँग सहमति भएको थियो ।

कम्पनीले फ्रेम बनाएर ल्याएपछि पनि त्यसको जडान गर्न समय लाग्ने बताएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

अब गेट त्यही रहने र फ्रेम मात्रै भत्काएर नयाँ जडान गरिनेछ । फ्रेम जडानका लागि सुरुङभित्र आबश्यक पर्ने संरचना निर्माणको कामसमेत अघि बढाइने भएको छ ।

सो फ्रेम र गेटको अध्ययनका लागि परामर्शदता कम्पनीले थप विज्ञ ल्याउने तयारी गरेपनि धेरै जिल्लामा जारी भएको निषेधाज्ञाका कारण उनीहरु आउन सकिरहेका छैनन् ।

सुरुङमा गेटको फ्रेम परिवर्तन गरिने समयसम्ममा सुरुङमा पनि भेटिएका त्रुटि सच्चाउने काम अघि बढ्ने प्रवक्ता शाक्यले जानकारी दिए ।

परामर्शदाता कम्पनी र निर्माण कम्पनीकै त्रुटिका कारण सो दुर्घटना भएकाले त्यसको क्षति पनि सम्बन्धित कम्पनीले नै बेहोर्ने मनत्रालयले जनाएको छ । यसको जडानका लागि आयोजनाले रकम बेहोर्न नपर्ने बताइएको छ ।

त्यस्तै, सुरुङमा हाल निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो कम्पनीले पनि बिज्ञ ल्याउन खोजे पनि अहिलेको अवस्थाका कारण ल्याउन नसकेको उनले बताए

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार