बलात्कारको आरोपमा शिक्षकसहित तीनजना पक्राउ

समाचार

2020 07 13 Pakrau arest

बैतडी । बैतडी सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ परेको छ। पीडित किशोरीका आफन्तले दिएको जाहेरीको आधारमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

‘हामीले पीडित किशोरीका आफन्तहरुले दिएको जाहेरीको आधारमा तीनजनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘उनीहरुमाथि अनुसन्धान सुरु भएको छ।’ किशोरीलाई पटकपटक बलात्कार गरेको आरोप लागेका शिक्षक खडक बोहरा, सिगास गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। बुधबार अदालतबाट म्याद थपेर तीनजनामाथि थप अनुसन्धान थाल्ने प्रहरीको भनाइ छ। ‘पीडितका आफन्तले जबरजस्तीकरण अन्तर्गत जाहेरी दिएको छ। सोही जाहेरीको आधारमा रहेर हामीले अनुसन्धान गरिरहेका छौं,’ प्रहरी प्रमुख अधिकारीले भने, ‘हामी यो घटनामा निकै संवेदनशील भएर अनुसन्धानमा छौं। घटनामा संलग्न कसैलाई पनि उन्मुक्ति मिल्ने छैन।’

यसअघि मंगलबार प्रहरीले पीडित किशोरीको उद्धार गरेर जिल्ला सदरमुकाम पुर्याएको थियो। पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ। सिगास गाउँपालिकाकी ती किशोरी विवाह भएको ६ महिनामै सुत्केरी भएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको थियो। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाइ वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारवाही उल्लेख छ। कानुनअनुसार त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार