विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती

समाचार

hand sanitizer zuOmjYZTig

काठमाडौं । घरमा स्यानिटाइजर। सवारी साधनमा स्यानिटाइजर। अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर। जहाँ गयो त्यहीं स्यानिटाइजर। सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला रु विज्ञहरू भन्छन्, ‘नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण बरु मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको प्रारम्भिक अनुसन्धानमध्ये बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावहीन (बरु हानिकारक) देखाएको छ। उसले २२ ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा दुईखाले हानिकारक जीवाणु (ब्याक्टेरिया) लाई नष्ट गर्ने क्षमता नभएको पाएको छ। ती मानव स्वास्थ्यका लागि हानिकारकसमेत छन्।

नियमन छ तर छैन

औषधि उत्पादक संघका अनुसार देशभर ३ सयभन्दा बढी स्यानिटाइजर उद्योग छन्। तर, औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालन अनुमति लिएका छन्। ती सबैको अनुगमन एवं नियमन गर्न विभाग असमर्थ देखिएको छ।

विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको गुनासोपछि बल्ल उसले ५ वटा उत्पादनलाई प्रतिबन्ध लगाएको छ। विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाइएका थिए। विभागका महानिर्देशक नारायण ढकालका अनुसार ती उत्पादनले स्यानिटाइजरमा ८३ प्रतिशतसम्म मेथानल प्रयोग गरेका छन्। जब कि मेथानलले मानिसको ज्यानै जान सक्छ।

भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका पाँच ब्रान्डका स्यानिटाइजरको नमुना परीक्षण गर्दा तिनमा मानव स्वास्थ्यका लागि हानिकारक मेथानल मिसाएको पाइएको थियो।

ठग्दै, छुटको सहुलियत लिँदै

प्राणघातक मेथानल मिसावट गरेर स्यानिटाइजर उत्पादन गर्ने ती उद्योगले औषधि व्यवस्था विभागबाट अनुमतिसमेत नलिएको पाइएको छ। कानुनतः ती उद्योगले अनुमति नलिई कारोबार गर्न पाउँदैनन्। तर, विभागले दर्ताबिनै सञ्चालनमा रहेका स्यानिटाइजर उद्योगलाई कारबाही गर्न बेवास्ता गरेको छ। उल्टो, उसले असोजसम्म बिनादर्ता त्यस्ता उद्योग सञ्चालन गर्ने छुट दिएको छ।

जनस्वास्थ्यमाथि प्रत्यक्ष प्रभाव पार्ने स्यानिटाइजरको अनियन्त्रित बिक्रीवितरण नियमन गर्न विभाग चुकेको छ। सुरुवातमा स्यानिटाइजरको अनुमति लिन असारसम्मको म्याद दिइएकामा असोजसम्म तन्काइयो। यसले विषाक्त रसायन प्रयोग गरी स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेका उद्योगलाई प्र श्रय दिइरहेको छ।

विभागका महानिर्देशक ढकाल आफैं स्वीकार्छन्, ‘हामीले लाइसेन्स लिएर स्यानिटाइजर उत्पादन गर्न ६ महिना दिएका थियौं। कारबाहीमा पर्ने यी उद्योगले अहिलेसम्म विभागबाट अनुमति लिएका थिएनन्।’ संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबरको स्यानिटाइजर कारोबार भएको अनुमान छ।

विभागलाई स्यानिटाइजर उद्योगको अद्यावधिक अवस्थासमेत थाहा छैन। ‘अधिकांश उद्योगले विभागसँग अनुमति नलिई स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेका छन्’, महानिर्देशक नारायण ढकालले भने।

सरकारले समयमै दर्ता नभएका उद्योग तथा व्यवसाय बन्द नगराउने हो भने स्थिति भयावह हुने औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी बताउँछन्। उनी भन्छन्, अनुगमनबाट मेथानल मिसावट गर्ने पाँचवटा उद्योग पत्ता लाग्यो। तर, ३ सयभन्दा बढी त्यस्ता उद्योगमा मिसावट गर्ने अझै कति होलान् ? जनस्वास्थ्यसँग जोडिएको विषयमा विभाग संवेदनशील देखिएन।’

जथाभावी बिक्री रोक्न दबाब

असार मसान्तमा ह्यान्ड स्यानिटाइजर दर्ताका लागि सरकारले म्याद थप गरेको निर्णयविरुद्ध नेपाल औषधि उत्पादक संघ आन्दोलनमा उत्रिएको थियो। संघको माग थियो— दर्ता नभएका फर्मलाई स्यानिटाइजर बिक्री गर्न नदिने र औषधि पसललाई मात्रै बिक्रीको जिम्मा दिने।

सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्रीवितरण गर्नुपर्नेमा बिनादर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै औषधि उत्पादकहरू आन्दोलनमा उत्रिएका थिए। संघले औषधि व्यवस्था विभागमा धर्नासमेत दियो। तर, विभागले संघको मागको कुनै सुनुवाइ गरेन।

चाहिन्छ इथानल, मिसाइन्छ मेथानल

विभागले प्रतिबन्ध लगाएकामध्ये हाइजिन सोप एन्ड केमिकल्स प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ब्रान्डको ५० एमएल स्यानिटाइजरमा ८३ प्रतिशत मेथानल मिसाएको पाइएको छ। मेथानलको थोरै मात्रा पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ। मानिसको ज्यानै लिने मेथानल सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा ७६।३३ प्रतिशत, एडभान्स ह्यान्ड स्यानिटाइजरमा ७० प्रतिशत र एरोसफ्टमा ५९।९६ प्रतिशतसम्म मात्रा भेटिएको प्रयोगशालाको परीक्षणमा खुलेको छ।

२५ चैत २०७६ मा गरेको बजार अनुगमनका क्रममा विभागले बजारमा बिक्रीवितरण भइरहेका कतिपय ह्यान्ड स्यानिटाइजर मापदण्डअनुसार नभएको गुनासो पाएको थियो। त्यसअनुसार स्यानिटाइजरको मापदण्ड विवरण हेरेर मात्र खरिद र प्रयोग गर्न सर्वसाधारणलाई सचेत गराएको थियो।

विभागले न्यून गुणस्तरका स्यानिटाइजर बिक्री–वितरण भइरहेको भन्दै त्यस्तो काम नगर्न निर्देशन दिएको थियो। विश्व स्वास्थ्य संगठनले स्यानिटाइजर बनाउने मापदण्ड तोकेको छ। उक्त मापदण्डअनुसार १०० मिलिलिटर ९एमएल० स्यानिटाइजर बनाउन ७८ एमएल इथानल चाहिन्छ। तर इथानलले मात्र स्यानिटाइजर बन्दैन। त्यति नै मात्राको स्यानिटाइजर बनाउन ४.१ एमएल हाइड्रोजन पेरोक्साइड, १.४ एमएल ग्लिसेरोल र बाँकी डिस्टिल्ड वाटर चाहिन्छ। मेथानल भने मिसाउन पाइँदैन। तर, नेपालका अधिकांश स्यानिटाइजरमा इथानल होइन मेथानल मिसाइएको पाइएको छ।

सुरुवातमा कोरोना महामारी फैलिएसँगै स्यानिटाइजरको माग ह्वात्तै बढेपछि धमाधम यसका उद्योग खुलेका थिए। तिनको प्रभावकारी अनुगमन जनशक्ति अभावका कारण हुन नसकेको महानिर्देशक ढकालले बताए। यो समाचार अन्नपुर्ण पोेष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार