विश्वभर कोरोना संक्रमणले दैनिक बृद्धिमा नयाँ रेकर्ड राख्दै

अन्तराष्ट्रिय

corona world

एजेन्सी । आइतवार एक दिनको अवधिमा विश्वभरि अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको छ।

चौबीस घण्टाको अवधिमा संसारभरि ३ लाख ७९ हजार ,९३० जनामा संक्रमण देखिएको उसको भनाइ छ। सो अवधिमा ५,५०० जनाको मृत्यु भएको र संसारभरि मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४१७ पुगेको डब्ल्यूएचओले बताएको छ।

भारत, अमेरिका र ब्रजिलमा सबैभन्दा बढी संक्रमित थपिएका हुन्। अहिलेसम्म विश्वभरि दुई करोड ८० लाखभन्दा बढी मानिसमा कोभिड–१९ देखिएको छ। तीमध्ये आधा अमेरिकी महादेशमा छन्।

यसअघि सेप्टेम्बर ६ मा ३ लाख ,०६ हजार ८५७ संक्रमित थपिएका थिए। डब्ल्यूएचओका अनुसार आइतवार भारतमा ९४ हजार ३७२ जना, अमेरिकामा ४५ हजार ५२३ जना र ब्रजिलमा ४३ हजार ७१८ जना संक्रमित थपिएका थिए।

अमेरिका र भारतमा १,००० भन्दा बढी मानिसको कोभिड–१९ सम्बन्धी रोगबाट मृत्यु भएको थियो भने ब्रजिलमा ८७४ जनाको मृत्यु भएको थियो। भारतमा अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेका छन्।

गत साता भारतले अगस्ट एक महिनामा मात्रै त्यहाँ २० लाख संक्रमित थपिएको बताएको थियो जुन महामारी सुरु भएयता एउटै देशमा एक महिनामा भएको सबैभन्दा बढी संक्रमण हो। अगस्टमा भारतमा दैनिक औसत ६४ हजार संक्रमित थपिएका थिए। उक्त संख्या जुलाईको भन्दा ८४ प्रतिशतले बढी थियो।

त्यहाँ सेप्टेम्बर सुरु भएदेखि प्रत्येक दिन १, हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।
कोभिड–१९ हुँदा मान्छेको शरीरमा के हुन्छरु

ब्रजिलमा ४० लाखभन्दा बढी सङ्क्रमित छन् र त्यहाँ अहिलेसम्म १,३१,००० भन्दा बढी मानिसको मृत्यु भएको छ।

अमेरिकामा संसारका सङ्क्रमितमध्ये झन्डै एकचौथाइ छन्।जुलाई महिनायता भने त्यहाँ दैनिक वृद्धि हुने सङ्क्रमित सङ्ख्या घट्दो क्रममा रहेको छ।

अमेरिकामा अहिलेसम्म १,९४,००० भन्दा बढीको मृत्यु भइसकेको छ।

अन्य देशको अवस्था के छ ?
यूरोपका देशहरूमा दैनिक संक्रमितहरू बढ्न थालेपछि कोरोनाभाइरसको अर्को लहरको चिन्ता थपिएको छ। यूके, फ्रान्स र स्पेनमा संक्रमित संख्या बढ्दो क्रममा छन् भने जर्मनी र इटलीमा केही नियन्त्रित देखिएको छ।

पेरु, इजरेल, दक्षिण कोरिया र अस्ट्रेलियामा पनि संक्रमण बढिरहेको छ। न्यूजील्यान्डमा भने सोमवारदेखि अकल्यान्ड सहरमा बाहेक अन्य स्थानमा प्रतिबन्धहरू फुकुवा गरिने भएको छ। इजरेलमा भने शुक्रवारदेखि पूरै देशमा लकडाउन गरिएको छ। (बिबिसीबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार