कोरोना बिमामा विवादास्पद नीति ः १ लाखको बिमा गर्नेले २५ हजार मात्र पाउने

अर्थ/बाणिज्य

bima

काठमाडौं । अब १ लाखको कोरोना बिमा गर्नेले बिमांकबराबर होइन, जम्मा २५ हजार रुपैयाँ लिएर चित्त बुझाउनुपर्ने भएको छ । बिमा समितिले आइतबार कोरोना बिमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनाएको हो ।

त्यस्तै, अस्पताल भर्ना भएर उपचार गर्नेले अधिकतम् ७५ प्रतिशतसम्म मात्रै खर्च दिने व्यवस्था गरेको छ । अर्थात्, कुनै बिरामी अस्पताल भर्ना भएर उपचार गर्दा २० हजार खर्च भयो त्यति मात्रै दाबी भुक्तानी गर्नेछ । ५० हजारको बिमा गर्नेले अधिकतम साढे ३७ हजार र १ लाखको बिमा गर्नेले ७५ हजार रुपैयाँ मात्रै प्राप्त गर्नेछन् । जबकि, यसअघि कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै जतिको बिमा गरेको हो, त्यति नै रकम संक्रमित वा परिवारलाई दिने व्यवस्था थियो ।

गत वैशाख पहिलो सातादेखि सञ्चालन गरिएको कोरोना बिमा योजनामा बिमित संक्रमित हुनेबित्तिकै नगद प्रदान गर्ने व्यवस्था थियो । तर, पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि समितिले आइतबार कोरोना बिमा मापदण्ड संशोधन गर्दै राहत रकम र अस्पताल भर्ना खर्च मात्रै भुक्तानी गर्ने व्यवस्था गरेको हो । तर, नयाँ व्यवस्थाअनुसार संक्रमितले दाबी भुत्तानी पाउने प्रक्रियालाई झनै जटिल बनाइएको छ । होम आइसोलेसनमा बसेका संक्रमितले राहत रकमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखका साथै स्थानीय निकायको सिफारिससमेत पेस गर्नुपर्नेछ । त्यस्तै, अस्पतालमै उपचाररत संक्रमित बिमितले भर्ना तथा डिस्चार्ज भौचर पेस गर्नुपर्नेछ ।

कोरोना बिमाको राहत तथा अस्पताल भर्ना खर्च लिन संक्रमित आफैं बिमा कम्पनीहरूमा जानुपर्ने भएको छ । समितिले कोरोना बिमा मापदण्ड परिमार्जन गर्दै संक्रमितलाई मात्रै दाबी भुक्तानी दिइने व्यवस्था गरेको हो । संक्रमितको मृत्यु भएको अवस्थामा मात्रै इच्छाएको वा कानुनी मान्यता पाएको नातेदारले भुक्तानी पाउने व्यवस्था छ । यसअघिको व्यवस्थामा संक्रमितको परिवारले कम्पनीमा दाबी भुक्तानी पाउँथ्यो ।

त्यस्तै, अब बिमा गरेको एक महिनासम्म संक्रमित हुनेले दाबी भुक्तानी नपाउने भएका छन् । यसअघि १५ दिनसम्म संक्रमित भए कोरोना बिमा लागू नहुने व्यवस्था थियो । त्यस्तै, बिमित विदेश गएको छ भने फर्किएको एक महिनासम्म बिमाले काम नगर्ने व्यवस्थासमेत गरिएको छ । यसअघि त्यसमा पनि १५ दिनको व्यवस्था थियो । अर्कातिर, अब एकजना मात्रैले कोरोना बिमा नै गर्न नपाउने व्यवस्था समितिले गरेको छ । अबदेखि जारी हुने पोलिसी परिवार र संस्थागत मात्रै हुने र अवधि आगामी असारसम्मको मात्रै हुनेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार