मेलम्चीको हेडबक्स निर्माण ७० प्रतिशत सकियो

समाचार

melamchi 2

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै आठ महिना बाँकी हुँदा निर्माणअघि बढिरहेको हो । आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडबक्स’ निर्माणसमेतअघि बढिरहेको छ ।

निर्धारित अवधि आगामी वैशाखसम्ममा निर्माण सम्पन्न भइसक्ने खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । उनले भने, ‘यही गतिमा काम भइरहँदा समयमै सकिने देखिन्छ ।’ सुरुङ निर्माण सकिएर परीक्षणका क्रममा दुर्घटना भएपछि अहिले यसको गेटमा रहेको त्रुटि सच्याउने काम भइरहेको छ । आगामी मङ्सिर, पुससम्ममा त्रुटि सच्याउने काम सकिएर पुनः सुरुङको परीक्षण हुने उनले बताए । सो समयमा पनि हेडबक्स निर्माण नसकिने हुँदा अस्थायी बाँधबाट नै पानी पठाइनेछ । परीक्षणका लागि र नियमित पानी पठाउन केही समयसम्म अस्थायी बाँधबाटै पथान्तरण हुने बताइएको छ ।

दुई दशक पहिले निर्माण सुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ । आयोजनामा यसअघि काम गरेको इटालियन निर्माण कम्पनी सिएमसिले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनामा यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार