कर्णालीमा ७० प्रतिशत स्याउ उत्पादनमा कमी

अर्थ/बाणिज्य

Apple 1598844622

सुर्खेत । चालु आर्थिक वर्षमा कर्णालीका जुम्ला, कालीकोट र मुगुमा ७० प्रतिशत स्याउ उत्पादनमा कमी आएको छ । कोरोनाका कारण र स्याउ किसानहरुले गोडमेल र स्याउ फल्ने समयमा असिना पानी परेकाले स्याउ उत्पादनमा कमी आएको हो । स्याउ उत्पादनमा कमी आएका कारण स्याउ किसानहरु चिन्तित बनेका छन् ।

जुम्लामा गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको र यसवर्ष घटेर करिब ५ हजार १ सय मेट्रिक टन फलेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा स्याउ निकै कम मात्र फलेको छ,’ उनले भने, ‘स्याउ उत्पादन ७० प्रतिशत कमी आएको छ ।’

गत आर्थिक वर्षमा स्याउ राम्रो फलेको यस आर्थिक वर्षमा आफ्नो बगैंचामा मुस्किलले १ सय कार्टुन स्याउ फलेको जुम्लाका स्याउ किसान रामसिंह रावलले बताए । त्यस्तै, मुगुमा पनि गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा कमै मात्र स्याउ फलेपछि मुगु छायाँनाथ रारा नगरपालिका ताल्चा गाउँका स्थानीय रामबहादुर भामले बताए ।

‘गाउँमा करिब दुई सय जनाको स्याउको बगैंचा रहेको छ,’ उनले भने, ‘कसैको बगैंचामा स्याउ फलेको छैन ।’कालीकोटमा स्याउको राजधानी भनेर चिनिने तिलागुफा नगरपालिकामा पनि यस वर्ष स्याउ उत्पादनमा कमी आएको छ ।

गत आर्थिक वर्षमा स्याउ बिक्रीबाट राम्रो आम्दानी लिए पनि यसवर्ष स्याउ उत्पादन नहुँदा नगरपालिकाको आम्दानीको स्रोतमा कमी आएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताएका छन् । ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार