दसैँका लागि ३ हजार खसी,च्याङ्ग्रा खरिद गर्दै संस्थान

समाचार

Khasi

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँलाई लक्षित गर्दै यो वर्ष तीन हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसीबोका किनेर सर्वसुलभ रूपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले बताइन् । कति संख्यामा खरिद गर्ने भन्ने एकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताइन् ।

संस्थानले विगत वर्षजस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्री गर्ने भएको छ । यस्तै, सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताइन् । एकिकृतरूपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा धेरै स्थानमा सुपथ मूल्य सपल सञ्चालन गरिने उनले बताए ।

संस्थानले हरेक वर्ष दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत वर्षहरूमा दाङ, तुलसीपुर, हेटौँडा र नेपालगञ्ज लगायतका स्थानबाट खसीबोका ल्याउने गरेको छ ।

कम्पनीले च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसीबोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसीबोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो । जसमा कम्पनीले १४ सय वटा खसीबोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार