चितवनका होटल खुल्ने तयारीमा

समाचार

chitwan

चितवन । गत ११ चैतदेखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्ट हिजोआज खोल्ने तयारीमा छन् । व्यवसायीले कभिड( १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत ११ चैतयता लकडाउन र निषेधाज्ञा गर्दै आएको थियो । पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडानसमेत संचालन भएका छन् । जसका कारण फेरि पनि पर्यटन क्षेत्र संचालन हुने तरखरमा छ । चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।

त्यसैले यहाँका होटल व्यवसायीले कोभिड( १९ संक्रमण रोकथामका लागि मापदण्ड पूरा गरी होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय बन्द भएकाले सरसफाइ र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन पाँचदेखि २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए ।

तत्काल पर्यटक आउने सम्भावना नभए पनि सबै मापदण्ड पूरा गरेर होटल संचालन गर्न लागिएको उनले बताए । चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुई वर्ष लाग्नेसमेत भट्टराईको भनाइ छ । बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकिँदै गरेकाले केही आन्तरिक पर्यटक आउने आसमा सौराहाका व्यवसायी रहेका छन् ।

व्यवसायीलाई सरकारले उपेक्षा गरेको उनीहरूको बुझाइ छ । सरकारले पुनर्कर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पुँजीको अभाव भएको पनि व्यवासयीले बताए । होटल व्यवसायी ध्रुव गिरिले लामो समय बन्द भएका होटलको सरसफाइ गर्ने, मर्मत गर्ने काममा आफूहरू ब्यस्त रहेको बताए । उनले होटल संचालन गर्नका लागि कर्मचारीलाई १५र१५ दिन गरी  मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताए ।

चितवनको सौराहामा करिब दुई सयको संख्यामा होटल तथा रेष्टुरेन्ट रहेका छन् । त्यस्तै, ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् । सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्ट पूर्णरूपमा पर्यटनमा आधारित छन् । कोभिड( १९ का कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भए पनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटल रेष्टुरेन्ट संचालन गर्न लागिएको व्यवसायी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार