प्रधानमन्त्री ओलीले किन रोक लगाए‘‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’पुस्तक वितरणमा

ब्यानर

simaa1234

काठमाडौं । यतिबेला पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै प्रकाशन गरेको एक पुस्तक वितरणमा रोक लगाइएपछि विवाद उत्पन्न भएको छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भूभाग समेटेर तयार पारेको त्यस्तो पुस्तक वितरण नगर्न निर्देशन दिएको भन्दै त्यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको हो ।

‘‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नाम राखिएको पुस्तकलाई वितरण नगर्नु भनेर प्रधानमन्त्रीले निर्देशन दिएको शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सार्वजनिक गरेका थिए । मंगलबारको एक शिक्षा सम्बन्धी भर्चुअल बैठकमा मन्त्री पोखरेलले प्रधानमन्त्रीको त्यस्तो निर्देशन आएको उल्लेख गर्नुहुँदै परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयसँगको परामर्शपछि मात्रै पुस्तक वितरण गरिने प्रष्ट पारेका थिए ।

नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री  नाम राखिएको पुस्तकमा लिपुलेक, कालापानी र लिम्पियाधुराको ४ सय ६० दशमलव २८ वर्गकिलोमिटर भूभाग थपिएर नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार ६ सय ४१ दशमलव २८ वर्गकिलोमिटर पुगेको उल्लेख गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार गत ५ जेठमा सरकारले निर्णय गरेअनुसार भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले ७ जेठमा जारी गरेको नक्सा पनि पुस्तकमा राखिएको छ । नेपालको नयाँ नक्सा गत ३१ जेठमा प्रतिनिधिसभा र ४ असारमा राष्ट्रिय सभाले पारित गरिसकेको छ । तर, थपिएको भूमि कति हो भन्नेबारे भने पुस्तकमा केही खुलाइएको छैन ।

यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर भनेर विद्यार्थीलाई पढाउने गरिन्थ्यो । जेठ ७ पछि सरकारले जारी गरेको नयाँ नक्सासँगै क्षेत्रफल स्वभाविक रुपमा बढ्छ । बढेको नक्सा अनुसार देशको क्षेत्रफल कति हो भन्ने पुस्तकमा खुलाइनु पर्नेमा सरकारसँगै यसको जवाफ छैन ।

नक्सा तयार गर्ने जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी विभागको हो । तर विभागले देशको नयाँ नक्सा जारी भएको यतिका समयसम्म पनि अद्यावधिक क्षेत्रफल यति हो भनेर सार्वजनिक गर्न सकिरहेको छैन । जसको असर शिक्षा मन्त्रालयले नयाँ नक्सा र क्षेत्रफल समेटेर छापेको पाठ्य सामाग्रीमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार