पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ

Uncategorized

pakrau

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले पेट्रोलमा तारपिन तेल मिसावट गर्ने एक जना टयांकर चालकलाई पक्राउ गरेको छ । पेट्रोल लिएर आएका चालकलाई तारपिन तेल मिसाएको पाइएपछि निगमको थानकोट डिपोबाट प्रहरीले पक्राउ गरेको हो ।

थानकोट डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याङ्करका चालक सचिन सुवेदीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए ।

नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटका प्रमुख प्रदीप यादवले ५ चेम्बरमध्ये एक चेम्बरमा करिब ६ सयदेखि १ हजार लिटर तारपिन तेल मिसावट गरेको पाइएको बताए ।

सुवेदीले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन आयल मिसावट गरेको अनुमान गरेको छ । ुउनलाई कालोबजारी तथा केही सामाजिक अपराध ऐनअनुसार कारबाही गर्न प्रहरीलाई बुझाएका छौं,’ डिपो प्रमुख यादवले भने ।

दुई साता अवधिमा पेट्रोलमा मिसावट तथा चोरीमा संलग्न छैटौँ व्यक्ति पक्राउ परेको आयल निगमले जनाएको छ । यसअघि पेट्रोल चोरीमा संलग्न एक तथा पेट्रोलमा मिसावटको आरोपमा निगमको अमलेखगन्ज डिपोबाट तीन र थानकोट डिपोबाट एक जना चालक पक्राउ परिसकेका छन् ।

उक्त गाडीमा पाँच वटा चेम्बरमा हुने गर्दछन् एउटा चेम्बरमा चार केएल अर्थात् चार हजार लिटर तेल हुने गर्दछ भने पाँच चेम्बरमा २० केएल (२० हजार लिटर) डिजेल पेट्रोल आउने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार